तिहारको बत्ती जडान गर्ने क्रममा करेन्ट लाग्दा युवकको मृत्यु
वीरगन्ज,कात्तिक २ — दीपावलीको तयारीका क्रममा झालर बत्ती जडान गर्ने क्रममा करेन्ट लाग्दा एक युवकको मृत्यु भएको छ।
मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका–१ बजार छपकैयाका १७ वर्षीय पीयूष साह रहेका छन्।
वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक निरोज चौलागाईंका अनुसार, शनिबार साँझ करिब ६ बजे धनतेरसको अवसरमा आफ्नै एक तल्ले घरमा झालर बत्ती जडान गर्ने क्रममा करेन्ट लागेर साह अचेत भएका थिए।
उनीलाई स्थानीयले तुरुन्तै नारायणी अस्पताल पुर्याए पनि त्यहाँ उपचार सम्भव नभएपछि नेशनल मेडिकल कलेज लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

