स्वास्थ्य सेवा विभागका पूर्वमहानिर्देशकसहित १४ जनामाथि भ्रष्टाचारको मुद्दा
काठमाडौं,कात्तिक २ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य सेवा विभागका तत्कालीन महानिर्देशक डा. सङ्गीता कौशल मिश्रासहित १४ जनामाथि भ्रष्टाचारको मुद्दा विशेष अदालतमा दायर गरेको छ।
आयोगका अनुसार ‘मेमोग्राफी मेसिन खरिद प्रकरणमा झुटा विवरण र बिल पेश गरी भ्रष्टाचार गरेको’ आरोपमा उनीहरूविरुद्ध रु १४ करोड ६ लाख ८५ हजार ५०० बिगो सहित सजाय मागदाबी गरिएको हो।
आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार आरोपितहरूले सम्झौताअनुसार सम्पूर्ण सामग्री नआउँदै सबै सामग्री आएको भन्दै गलत दाखिला प्रतिवेदन र झुठा बिल तयार गरी भुक्तानी लिएको अभियोग लगाइएको छ।
मुद्दामा डा. मिश्रासँगै विभागका तत्कालीन निर्देशक डा. श्रवणकुमार थापा, वरिष्ठ स्वास्थ्य प्रशासक डा. सुरेन्द्रप्रसाद चौरसिया, निर्देशक डा. विवेककुमार लाल, प्रमुख लेखा नियन्त्रक भुवनप्रसाद काफ्ले, कानुन अधिकृत सीता घिमिरे, वरिष्ठ जनस्वास्थ्य अधिकृत दीपक अधिकारी, शाखा अधिकृत यादवप्रसाद सापकोटा, लेखा अधिकृत शम्भुप्रसाद ढकाल, लेखापाल तिलकराम ढकाल, बायोमेडिकल इञ्जिनियरहरू आशिष चौहान र पद्मा मिश्र, जनस्वास्थ्य निरीक्षक सञ्जयकुमार साह, साथै म्याक्सिम इन्कर्पोरेशन ट्रेडर्स प्रालि र कम्पनीका सञ्चालक सुन्दर भुसाल सामेल छन्।
आयोगले सबैलाई एउटै बिगो र सजायको मागदाबी गर्दै मुद्दा विशेष अदालतमा दर्ता गरेको जनाएको छ।

