पञ्चकन्या र शिवपुरीमा बारम्बार बिजुली आपूर्तिमा समस्या आएपछि समाधानका लागि लाइन परिवर्तनको माग
नुवाकोट, कात्तिक २। नेपाल विद्युत प्राधिकरण, नुवाकोट वितरण केन्द्र रसुवा–त्रिशुलीमा विद्युत आपूर्तिको अनियमितता समाधान गर्न पञ्चकन्याका स्थानियहरूले प्रसारण लाइन परिवर्तन गर्न माग गरेका छन्।
आइतबार नेपाल विद्युत प्राधिकरण प्रमुखलाई सम्बोधन गरी पठाइएको पत्रमा ११ केभी क्षमताको प्रसारण लाइन साविक पञ्चकन्या क्षेत्रअन्तर्गत कविलास, भद्रुटार, थानापति, सुननखानी, लिखु, छाप, सिक्रे हुँदै सुदुर पूर्वी क्षेत्र जोड्ने बिजुली छहरे बजारदेखि बारम्बार समस्या देखिएको उल्लेख गरिएको छ।
स्थानिय बासिन्दाहरूले छहरेदेखि बुढिसेरा हुँदै सिधै गाउँमा लाइन लैजाँदा विद्युत आपूर्ति सहज हुने भन्दै लाइन समायोजन (rerouting) गर्न प्राधिकरणसँग माग गरेका छन्। पत्रमा भनिएको छ, “छहरेदेखि बुढिसेरा हुँदै सिधै गाउँमा लाइन गएमा बत्ती सधैं बल्नेछ, अन्यथा छहरेदेखिको बाकी गाउँ अँध्यारोमा बस्नु पर्ने अवस्था रहन्छ।”
स्थानीयवासीहरूको तर्फबाट कृष्ण प्रसाद बोहरा र सुलोचना गजुरेल लगायतले हस्ताक्षर गरिएको उक्त निवेदनमा विद्युत आपूर्तिको समस्या दीर्घकालीन समाधान गर्न प्राविधिक निरीक्षण गरी उचित निर्णय गर्न अनुरोध गरिएको छ।
यस विषयमा नेपाल विद्युत प्राधिकरण, नुवाकोट वितरण केन्द्रले छहरे शाखालाई स्थलगत अनुगमन र प्राविधिक अध्ययन तत्काल गरी प्रतिवेदन पेस गर्न निर्देशन दिएको छ।



