ज्येष्ठ नागरिकका लागि हवाई टिकटमा ८० प्रतिशतसम्म छुट



काठमाडौं,कात्तिक ३ — नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई यात्रा गर्ने ज्येष्ठ नागरिकका लागि अधिकतम ८० प्रतिशतसम्म छुट प्रदान गर्ने निर्णय गरेको छ।

आइतबार प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको अध्यक्षतामा भएको बैठकमा वायुसेवा सञ्चालक सङ्घका अध्यक्ष तथा आन्तरिक वायुसेवा कम्पनीका प्रतिनिधिहरूको उपस्थितिमा उक्त निर्णय गरिएको हो।

प्राधिकरणका अनुसार अब ७० वर्षभन्दा माथिका नागरिकलाई ५० प्रतिशत, ७५ वर्षभन्दा माथिका नागरिकलाई ७० प्रतिशत र ८० वर्षभन्दा माथिका नागरिकलाई ८० प्रतिशतसम्म छुट दिइनेछ।

फरक क्षमता भएका यात्रुका लागि पनि कम्तीमा ५० प्रतिशत छुट सुनिश्चित गरिएको प्राधिकरणले जनाएको छ।

महानिर्देशक अधिकारीका अनुसार यो निर्णयले हवाई यात्रामा समावेशीता र पहुँच वृद्धि गर्नेछ र दुर्गम भेगका ज्येष्ठ नागरिकका लागि विशेष रूपले उपयोगी हुने विश्वास लिइएको छ।

बैठकमा सहभागी वायुसेवा कम्पनीहरूलाई उक्त निर्णय आजैदेखि लागू गर्न निर्देशन दिइएको प्राधिकरणले जनाएको छ।

अधिकारीले भने, “ज्येष्ठ नागरिक र फरक क्षमता भएका यात्रुको हितका लागि प्राधिकरणले आगामी दिनमा पनि जनमुखी नीतिहरू कार्यान्वयन गर्दै लैजानेछ।”

प्रतिक्रिया दिनुहोस्