शान्तिसुरक्षा, सुशासन र अपराध नियन्त्रणमा गृह मन्त्रालयको देशव्यापी निर्देशन



काठमाडौं ,कात्तिक ३— गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयहरूलाई शान्तिसुरक्षा, अपराध नियन्त्रण, सुशासन र प्रभावकारी सेवा प्रवाह सुनिश्चित गर्न निर्देश दिएको छ।

मन्त्रालयको सचिवस्तरीय निर्णयअनुसार प्रमुख जिल्ला अधिकारीहरूलाई सरकारप्रति नागरिकको भरोसा र विश्वास अभिवृद्धि हुनेगरी सक्रिय र नतिजामुखी भूमिका निर्वाह गर्न भनिएको छ।

हालैको जेनजी प्रदर्शनपछि देखा परेका घटनालाई मध्यनजर गर्दै मन्त्रालयले सुरक्षा चुनौतीहरू पहिचान, विश्लेषण र सूचना संकलनलाई प्रभावकारी बनाउने निर्देशन दिएको हो।

त्यसैगरी, सभा–सम्मेलन तथा विरोध प्रदर्शनहरू अहिंसात्मक र शान्तिपूर्ण ढङ्गले सञ्चालन गर्न पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था मिलाउन पनि भनिएको छ।

मन्त्रालयले हराएका वा लुटिएका हातहतियार र खरखजाना फिर्ता ल्याउन संयुक्त सेक्युरिटी अपरेसन सञ्चालन गर्ने र अवैध हातहतियार नियन्त्रणमा विशेष ध्यान दिन निर्देशन दिएको छ।

यस्तै, सुरक्षाकर्मी र निजामती कर्मचारीको मनोबल वृद्धि, दण्डहीनताको अन्त्य र नागरिकमा स्थानीय प्रशासनप्रतिको विश्वास बढाउने गरी कार्यक्रम सञ्चालन गर्न भनिएको छ।

प्रमुख जिल्ला अधिकारीहरूलाई महत्वपूर्ण घटना, अपराध नियन्त्रण र शान्तिसुरक्षासम्बन्धी विवरण दैनिक रूपमा मन्त्रालयमा पठाउन निर्देशन दिइएको छ।

मन्त्रालयले छिमेकी मुलुकहरूसँग सीमा जोडिएका जिल्लाहरूलाई सीमा सुरक्षा, अपराध नियन्त्रण र नियमित निगरानीमा जोड दिन पनि भनेको छ।

त्यस्ता सीमा बैठकमा सहभागिता जनाउँदा मन्त्रालयको स्वीकृति आवश्यक हुने र बैठकपछि मन्त्रालयलाई लिखित प्रतिवेदन पठाउनुपर्ने उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस्