टोखा नगरपालिकामा वारुण यन्त्र (दमकल) सञ्चालन, नगरबासीका लागि सेवा सुरु
टोखा, कात्तिक ३— टोखा नगरपालिकाले नगरबासीका लागि वारुण यन्त्र (दमकल) सञ्चालनमा ल्याएको जनाएको छ। आइतबार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल भट्टराईले विज्ञप्ति जारी गर्दै उक्त यन्त्र नगर प्रहरीमार्फत औपचारिक रूपमा परिचालनमा आएको जानकारी दिएका हुन्।
टोखा नगरपालिकाले आ.व. २०८१/८२ को पौष मसान्तमा कार्यपालिकाको निर्णयअनुसार दमकल खरिद गरेको थियो। अबदेखि नगर क्षेत्रभित्र हुने आगलागीजन्य विपद् र जनधनको क्षति न्यूनीकरणका लागि यो सेवा प्रयोगमा ल्याइनेछ।
नगरपालिकाले गत वर्ष नै साँघुरा गल्ली र दमकल जान नसक्ने बस्तीहरूमा पाइप बिछ्याउने काम पूरा गरिसकेको जनाएको छ।
काठमाडौँकै तारकेश्वर नगरपालिकाले २०७९ सालमै दमकल खरिदका लागि १ करोड रुपैयाँ बजेट विनियोजन गरे पनि अहिलेसम्म कार्यान्वयनमा ल्याउन नसकेको पृष्ठभूमिमा टोखाको पहललाई प्रगतिशील कदमका रूपमा लिइएको छ।
दमकल सेवाका लागि नगरबासीले निःशुल्क टोल फ्री नम्बर १८१०५०००३४३, ल्याण्डलाइन ०१–४९८८४०५, तथा मोबाइल नम्बरहरू ९८५१४१३६५०, ९८५१४१५५२७, र ९८५१२२२५७८ मा सम्पर्क गर्न सक्ने व्यवस्था गरिएको छ।
टोखा नगरपालिकाको कात्तिक २ गते बसेको कार्यपालिका बैठकले ‘बारुणयन्त्र व्यवस्थापन तथा सञ्चालन कार्यविधि, २०८२’ अनुसार दमकल परिचालन गर्ने निर्णय गरेको हो।
वारुण यन्त्रको नेतृत्व नगर प्रहरी सहायक निरीक्षक सिताराम आचार्यले गर्नेछन्। उहाँको टोलीमा नगर प्रहरी जवान गणेश गुरुङ, फायरम्यान दिनेश थापा, पूर्ण सिंह धामी, युबराज थापा, रमेश रिमाल, राकेश दुलाल, शशी तामाङ, सुनिल पाठक, र वारुणयन्त्र चालक अविनाश खड्का र पुरुषोत्तम पाण्डे रहेका छन्।
टोखा नगरपालिकाले यो सेवाबाट आगलागी नियन्त्रणमा समयमै प्रभावकारी प्रतिक्रिया दिन सकिने र जनसुरक्षामा नयाँ मापदण्ड स्थापित हुने विश्वास व्यक्त गरेको छ।

