सीटीईभीटीका जलेका उत्तरपुस्तिका भएका विद्यार्थीलाई पुनः परीक्षा: शिक्षामन्त्री पुन
काठमाडौं,कात्तिक ३— शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महाविर पुनले ‘जेनजी आन्दोलन’का क्रममा सीटीईभीटी (CTEVT) का विद्यार्थीहरूको जलेको उत्तरपुस्तिकाका कारण पुनः परीक्षा सञ्चालन गरिने बताएका छन्।
सोमबार केशरमहलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पुनले उक्त निर्णय गर्नका लागि निकै प्रयास गर्नुपरेको बताउँदै, पुनः परीक्षा सञ्चालनका लागि झन्डै रु. १ करोड ७५ लाख बराबरको खर्च लाग्ने जानकारी दिए।
उनका अनुसार, आन्दोलनका क्रममा जलेका सबै विद्यार्थीका उत्तरपुस्तिका पहिचान गरी सहज तरिकाले पुनः परीक्षा सञ्चालन गर्ने तयारी गरिएको छ।
मन्त्री पुनले थपे, “जलेका कापी भएका विद्यार्थीहरूको पुनः परीक्षा लिने निर्णयमा पुग्न धेरै छलफल भयो। अब ती विद्यार्थीलाई न्याय दिलाउन परीक्षा फेरि लिइनेछ।”
त्यस्तै उनले २०६९ सालदेखि रोकिएका सीटीईभीटीका करिब ४४२ वटा निवेदन दुई महिनाभित्र छानबिन गरी टुंग्याउने पनि घोषणा गरे।
मन्त्री पुनले वर्तमान समयमा कम्प्युटर सीप अनिवार्य भएको बताउँदै माध्यमिक तहसम्म १०० पूर्णाङ्कको कम्प्युटर विषय थप्ने तयारी भइरहेको जानकारी पनि दिएका छन्।

