पूर्वप्रधानमन्त्री ओली कानुनभन्दा माथि होइनन् : गृहमन्त्री अर्याल
काठमाडौं,कात्तिक ३— गृहमन्त्री ओमप्रकाश अर्यालले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली कानुनभन्दा माथि नभएको बताएका छन्। उनले ओलीमाथि पनि अनुसन्धान हुन सक्ने संकेत गर्दै “अब पहिलेजस्तो हुँदैन” भन्ने चेतावनी दिएका छन्।
सोमबार विपिन जोशीको श्रद्धाञ्जली सभामा सहभागी हुने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री अर्यालले ओलीलाई विदेश जान नदिने निर्णय सरकारको नभई न्यायिक जाँचबुझ आयोगको आदेश अनुसार भएको स्पष्ट पारे।
ओलीले आफूलाई बाहिर जानबाट रोक्न गृहमन्त्रीलाई चुनौती दिएकोबारे प्रश्न सोधिँदा मन्त्री अर्यालले भने, “आयोगले गरेको हो, सरकारले होइन। आयोगलाई सोध्नुपर्छ।”
उनले थपे, “केपी ओली मात्रै कानुनभन्दा माथि बस्ने? पहिलाको जस्तो अब हुँदैन।”
मन्त्री अर्यालको यो वक्तव्यले हालैको राजनीतिक विवादमा नयाँ चासो थपेको छ, विशेषगरी पूर्वप्रधानमन्त्री ओलीविरुद्ध जारी अनुसन्धान र उनीमाथिको यात्रा रोकसँग सम्बन्धित विषय रहेको छ ।

