रामेछापमा तिहारमा फूल पुगेन
रामेछाप,कात्तिक ३ । यस बर्ष रामेछाप जिल्लामा तिहारका लागि आवश्यक पर्ने फूलको अभाव भएको छ ।
अघिल्ला बर्षहरुमा व्यबसायी फूलको खेति गर्दै आएका यहाँका किसानहरुले बजार अभावको कारण देखाउँदै फूलको व्यबसायी खेति नगर्दा रामेछापमा अहिले फूलको अभाव भएको हो ।
तिहारले छोपिसक्दा पनि जिल्लाका मन्थली लगायतका बजारहरुमा अहिले फूल देख्न सकिएको छैन ।
अघिल्लो बर्ष फूल बिक्रि नभएकाले यस बर्ष यसको खेति नगरिएको मन्थली नगरपालिका वडा नं ५ का किसान रामबहादुर शाहिले बताउनु भयो ।
धेरै मिहनेतका साथ लगाएको अघिल्लो बर्षको फूल बगैंचामा नै सुकेपछि यस बर्ष उहाँले फूल खेति नगर्नु भएको हो ।
यस बर्ष जिल्लामा सरकारले प्लाष्टिकका फूलहरु समेत बिक्रिका लागि प्रतिबन्ध लगाएको छ ।
जिल्ला प्रशासन कार्यालय रामेछापले सूचना नै प्रकाशित गरेर जिल्लामा प्लाष्टिकका फूलहरु बिक्रिका लागि प्रतिबन्ध लगाएको उक्त कार्यालयले जनाएको छ ।
यता बजारमा फूल अभाव भएको मौका छोपेर व्यापारीहरुले भने प्रतिबन्धित प्लाष्टिकका फूलहरु महगोंमा बिक्रि गर्दै आएका छन् ।

