कार्तिक कृष्ण औँसीमा आज तिहारका कुनै पर्व छैनन् : पञ्चाङ्ग निर्णायक समिति
काठमाडौं,कात्तिक ४ — आज कार्तिक कृष्ण औँसी परे पनि मंगलबार तिहारका कुनै पनि पर्व नपरेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। समितिका अनुसार औँसी तिथि दिउँसोमै लागेकाले सोमबार साँझ नै लक्ष्मीपूजा सम्पन्न गरिएको हो।
सामान्यतया कार्तिक कृष्ण औँसीको रातमा लक्ष्मीपूजा गर्ने परम्परा रहँदै आएको छ। तर, औँसी तिथि सोमबार अपराह्नमै लागेकाले समितिले सोमबार नै पूजा गर्न निर्देश गरेको थियो। त्यसैले धेरै घरहरूमा सोमबार बेलुकी लक्ष्मीपूजा र मंगलबार बिहान कुकुरपूजा गरिएको हो।
तर, मूल वैदिक परम्पराका अनुयायीहरू भने तिथि नटुट्ने तर्क गर्दै मंगलबार नै लक्ष्मीपूजाको तयारी गरेका छन्। त्यस्तै काठमाडौँ उपत्यकाका नेवार समुदायका कतिपयले सूर्योदय हुँदाकै तिथिलाई मान्यता दिँदै मंगलबार नै पूजा गर्ने तयारी गरेका छन्।
भक्तपुर नगरपालिकाका नेवार समुदायले भने मंगलबार म्हपूजा (आत्मपूजा) गर्दैछन्। भक्तपुर नगरपालिकाका अनुसार समितिबाट सिफारिस प्राप्त पात्रोअनुसार मंगलबार अपराह्न ४ बजेर २९ मिनेटसम्म औँसी रहने भएकाले त्यसपछि प्रतिपदा तिथि लाग्ने बताइएको छ।त्यसैले बेलुकी हुने कर्म भएकाले म्हपूजा प्रतिपदामै मंगलबार गर्ने निर्णय नगरपालिकाले गरेको हो।
तलेजुका पुजारी, ज्योतिषी र विज्ञहरूको छलफलपछि भक्तपुरमा सोमबार लक्ष्मीपूजा, मंगलबार म्हपूजा र बुधबार भाइटीका (किजा पूजा) गर्ने निर्णय गरिएको हो।
तर, समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालका अनुसार आज मंगलबार तिहारका कुनै पर्व गर्न नपाइनेछ। उनी भन्छन्, “आज औँसी भएकाले केवल पितृकार्य मात्र गर्न सकिन्छ, तिहारका कर्महरू बुधबार नै गर्नुपर्छ।”
समितिले बुधबार गाई–गोरुपूजा, गोवर्धन पूजा र नेपाल संवत नयाँ वर्षसँगै म्हपूजा पनि गर्ने निर्देशन दिएको छ।

