नुवाकोटको ककनीमा आगलागी, दुई घर पूर्णरूपमा क्षतिग्रस्त



नुवाकोट,कात्तिक ४— नुवाकोटको ककनी गाउँपालिका–१ जल्किनेमा करेन्ट सर्ट भएर लागेको आगलागीबाट दुई वटा घर पूर्णरूपमा जलेर नष्ट भएका छन्।

प्रहरी चौकी ओखरपौवाका अनुसार, मंगलबार बिहान करिब ६ बजे बलराम बलामीको ढुङ्गामाटोले बनेको दुई तले जस्ताको छानाको घरमा करेन्ट सर्ट भई आगलागी भएको हो। आगोले बलामीकै घरसँगै जोडिएको गाउँले बलामीको घरमा पनि क्षति पुर्‍याएको छ।

आगलागीबाट दुवै घरमा रहेको धान, मकै, कोदो, गहुँ, किराना पसलका सामान, भाँडाकुडा, लत्ताकपडा लगायतका सामग्री पूर्णरूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

यद्यपि, मानवीय तथा चौपाया क्षति भने नभएको प्रहरीले पुष्टि गरेको छ। स्थानीयबासी र प्रहरीको सहयोगमा आगो करिब ८ बजे पूर्णरूपमा नियन्त्रणमा ल्याइएको हो।

प्रहरीले घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान तथा क्षतिको विवरण संकलन गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्