चितवनमा स्कुटर दुर्घटनामा दुई युवाको मृत्यु



चितवन,कात्तिक ४ — चितवनमा सवारी दुर्घटनामा परी दुई युवाको मृत्यु भएको छ। आज बिहान भरतपुर विमानस्थल नजिक स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा दुई जनाको ज्यान गएको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार, गएराति भरतपुर–१० स्थित विमानस्थल नजिकै बागमती प्रदेश ०६–००३ प ०६९२ नम्बरको स्कुटर आफैं अनियन्त्रित भई दुर्घटनामा परेको थियो।

दुर्घटनामा परी भरतपुर–२१ का २५ वर्षीय सन्दीप घिमिरे र सोही स्थानका २८ वर्षीय कुशल अर्यालको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुवै जनाको टाउकामा गम्भीर चोट लागेकाले उपचारका लागि तत्काल भरतपुर अस्पताल लगिएको भए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्