नुवाकोट ककनीमा दीपावलीको दिन घर जलेर खरानी — पीडितलाई तत्काल राहत
नुवाकोट,कात्तिक ४— एकातिर देशभर दीपावलीको रौनक, अर्कातिर नुवाकोटको ककनी गाउँपालिका–१ जल्किनेमा दुःखको धुवाँ मडारिएको छ। आज बिहान करिब ६ बजे भएको आगलागीले बलराम बलामी र गाउँले बलामीका दुई घर पूर्णरूपमा जलेर खरानीमा परिणत भएका छन्।
आगलागीको कारण विद्युत् सर्ट भएको अनुमान गरिएको छ। बलराम बलामीको घरबाट सुरु भएको आगो केही मिनेटमै गाउँले बलामीको घरमा समेत फैलियो। स्थानीयवासी र प्रहरीको प्रयासमा करिब दुई घण्टापछि आगो नियन्त्रणमा आउँदा घरमा रहेको सबै सामग्री खरानी भइसकेको थियो।
पीडित परिवारले दश लाख रुपैयाँभन्दा बढी नगद, करिब तीन तोला सुन, ओढ्ने–ओछ्याउने, लत्ताकपडा, अन्नपात, भाँडाकुडा लगायत सम्पूर्ण सामग्री गुमाए । भाग्यवश, मानवीय र चौपाया क्षति भने हुन पाएन।
घटनापछि गाउँपालिका अध्यक्ष सुमन तामाङ, उपाध्यक्ष मिठु माया तामाङ र वडा अध्यक्ष पदमबहादुर बलामीसहितको टोली तत्काल घटनास्थल पुगेका थिए। गाउँपालिकाले तत्काल राहतस्वरूप प्रेसर कुकर, भाँडाकुडा, दाल, चामल, तरकारी, सिरक, डस्ना, ओछ्याउने म्याट, गुन्द्री र त्रिपाल वितरण गरेको छ।
अध्यक्ष तामाङले आगलागीबाट पीडित बनेका परिवारप्रति गहिरो दुःख व्यक्त गर्दै “दुःखसँग लड्ने साहस मिलोस्” भन्ने कामना व्यक्त गरे। उहाँले गाउँपालिका पीडित परिवारको पुनःस्थापनाका लागि थप सहयोगको तयारीमा रहेको जानकारी पनि दिनुभयो।
आगलागी नियन्त्रणमा ल्याउन स्थानीयवासी, प्रहरी र जनप्रतिनिधिको सक्रियता प्रशंसनीय रहेको बताइएको छ।

