छहरे–टोखा सडक : शिवपुरीका बासिन्दाका लागि स्वरोजगारको नयाँ बाटो



नुवाकोट, कार्तिक ४ —नुवाकोटको शिवपुरी गाउँपालिका हुँदै ओहोरदोहोर गरिने छहरे–टोखा सडक आजकल केवल आवागमनको माध्यम मात्र होइन, स्थानीयका लागि स्वरोजगार र आत्मनिर्भरताको नयाँ अवसर बनेको छ।

सडक वरपरका किसानहरूले आफ्नै खेतबारीमा उत्पादन गरेका अर्गानिक तरकारी र फलफूल सिधै सडक किनारमै बिक्री गर्दै आएका छन्। बिहान सबेरैदेखि नै गुर्जे भञ्ज्याङदेखि छहरेसम्मका सडक खण्डमा ताजा सागसब्जी र फलफूलको रौनक देखिन्छ।

कसैको टोकरीमा सुन्तला, भोगटे र निबुवा सजिएका छन्, त कसैको मोलमोलाइ साग, बोडी, खुर्सानी र च्याउमा चलिरहेको हुन्छ। शिवपुरी ८ का थापागाउँ, चैजु, काफलडाँडा र शिवपुरी ७ का चापाबोट, सुनखानी, ठानाभञ्ज्याङ, गुरुङ गाउँ लगायतका स्थानका किसानहरूले यो सडकलाई ‘चलायमान बजार’ बनाएका छन्।

“अब त जे उत्पादन गर्छौं, सबै बिक्री हुन्छ। बजारमा लैजानु परेन, ग्राहक आफैं आउँछन्,” स्थानीय किसान रामबहादुर तामाङ भन्छन्।त्यस्तै सन्तोषी अधिकारी र सुनिता पाण्डेले पनि आफ्नो बारीको उत्पादन बेच्न सहज भएको बताउँदै स्थानीय सरकारले उचित व्यवस्थापन गरे अझ राम्रो हुने जनाए।

तिहारको रौनकसँगै अहिले यो सडकमा मखमली र सयपत्रीको माला, सुन्तला, बिमिरो, तरकारी र घरेलु उत्पादनको व्यापार बढेको छ। अर्गानिक उत्पादनले किसानलाई उचित मूल्य दिलाउनुका साथै उपभोक्ताले ताजा कृषि वस्तु पाउन थालेका छन्।

सडकले बिचौलियाविहीन व्यापारको वातावरण बनाइदिएको छ। यसले शिवपुरीका गाउँहरूमा स्वरोजगार र आम्दानी दुवै बढाएको छ। स्थानीय सरोकारवाला निकायले उचित व्यवस्थापन र प्रोत्साहन गरे यो क्षेत्र ‘स्थानीय उत्पादन बजार’को नमुना बन्न सक्ने सम्भावना प्रबल देखिन्छ।

प्रतिक्रिया दिनुहोस्