छैटौं देउराली अर्चले कप २०८२ को उपाधि न्यु भिजन युवा क्लबलाई



नुवाकोट,कात्तिक ४ —नुवाकोटको बेलकोटगढी नगरपालिका–९ अर्चलेमा सम्पन्न छैटौं देउराली अर्चले कप २०८२ को उपाधि न्यु भिजन युवा क्लबले हात पारेको छ।

मंगलबार भएको फाइनल खेलमा न्यु भिजनले उत्कृष्ट प्रदर्शन गर्दै आयोजक कन्चना देउराली युवा क्लबलाई १–० को अन्तरले पराजित गर्दै उपाधि जितेको हो। खेलको एकमात्र निर्णायक गोल न्यु भिजनका निर्माण तामाङले गरेका थिए।

प्रतियोगिताका उत्कृष्ट खेलाडीका रूपमा आयोजक क्लबका समुन्द्र थापा मगर घोषित भए भने, उत्कृष्ट गोलरक्षक सुबर्ण बानियाँ बने। सर्वाधिक गोलकर्ताको उपाधि पनि न्यु भिजनका निर्माण तामाङले नै हात पारे।

उपाधि विजेता न्यु भिजन युवा क्लबले नगद रु. १,००,००० सहित ट्रफी प्राप्त गरेको छ भने उपविजेता कन्चना देउराली युवा क्लबले रु. ५०,००० पुरस्कारमा चित्त बुझाएको छ।

समापन समारोहमा बागमती प्रदेश खेलकुद परिषद्का सदस्य सचिव दीपक लामाले विजयी टोलीलाई पुरस्कार तथा ट्रफी प्रदान गर्नुभयो। कार्यक्रममा पूर्व गाविस अध्यक्ष इन्द्रबहादुर लामा, कांग्रेस नेता जयराम दाहाल, नगर कार्यपालिका सदस्य गमला लामा, आयोजक समितिका नारायण नेपाल, अमृत नेपाल, प्रदीप नेपाल, प्रशन्न थिङ र तेजनाथ खतिवडा लगायतको उपस्थिती थियो।

समापनका क्रममा संयोजक प्रशन्न थिङले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्दै स्थानीय तहमा खेलकुदको विकासमा यस्ता प्रतियोगिताले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्