तिहारमा किनमेलको रौनक, ड्राई फ्रुट्सको आयात दोब्बर



काठमाडौं,कात्तिक ४ —तिहार सुरु भएसँगै काठमाडौंका मुख्य व्यापारिक केन्द्र असन, इन्द्रचोक र सुन्धारामा किनमेल गर्नेहरूको भीड बढेको छ। लक्ष्मीपूजा र भाइटीकाका लागि आवश्यक कोसेली, रङ, बिजुली बत्ती, खाद्यान्न र लत्ताकपडाको कारोबार ह्वात्तै बढेको व्यापारीहरू बताउँछन्।

तिहारका लागि सबैभन्दा महत्त्वपूर्ण मानिने भाइमसलामा प्रयोग हुने सुख्खा फलफूल (ड्राई फ्रुट्स) को आयातमा यसपालि अभूतपूर्व वृद्धि भएको भन्सार विभागले जनाएको छ। विभागका तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा मात्रै १ अर्ब ८२ करोड रुपैयाँ बराबरको ड्राई फ्रुट्स नेपालमा भित्रिएको छ।

गत आर्थिक वर्षको सोही अवधिमा मात्र ७६ करोड १६ लाख रुपैयाँ बराबरको ड्राई फ्रुट्स आयात भएकोमा यो वर्षको आयात दोब्बरभन्दा बढी पुगेको हो। भन्सारका अनुसार हालसम्म १८ लाख २३ हजार ३८० मेट्रिक टन सुख्खा फलफूल नेपाल भित्रिएको छ।

व्यापारीहरूका अनुसार दसैं–तिहार यसपटक नजिक–नजिक परेकाले बजारमा माग उच्च रहेको छ। तर भाइमसलाका अधिकांश वस्तु स्वदेशमै उत्पादन नहुँदा नेपाली उपभोक्ता अझै पनि विदेशी उत्पादनमै निर्भर रहन बाध्य छन्।

प्रतिक्रिया दिनुहोस्