ल्हेन्देखोलाको मितेरी पुल पुनःनिर्माण अन्तिम चरणमा, कात्तिक १५ भित्र सञ्चालनमा आउने सम्भावना



नुवाकोट,कात्तिक ५— नेपाल–चीन सीमास्थित ल्हेन्देखोलामा निर्माणाधीन मितेरी पुल (बेलिब्रिज) पुनःनिर्माणको अन्तिम चरणमा पुगेको छ। चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा पुनःनिर्माण भइरहेको उक्त पुलमा आवश्यक पार्टपुर्जा जडान र पिलर ठड्याउने काम सम्पन्न भइसकेको जनाइएको छ।

गत असार २४ गते आएको बाढीले पक्की मोटोरेबल पुल बगाएपछि चीन सरकारले सो पुल पुनःनिर्माणका लागि सहयोग उपलब्ध गराएको हो। अहिले वारी–पारी भाग जडान पूरा हुँदै गर्दा बीच भाग लच्किएपछि पुललाई थप बलियो बनाउन खोलाको माझमा अतिरिक्त पिलर निर्माण कार्य अगाडि बढाइएको छ।

प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले पुल निर्माणको गति हेर्दा यही कात्तिक १५ गतेसम्म पुल सञ्चालनमा आउने सम्भावना रहेको बताउनुभयो। उहाँका अनुसार सीमाक्षेत्रका चिनियाँ समकक्षीहरूले औपचारिक रूपमा सञ्चालन मिति नबताए पनि कार्य तीव्र गतिमा भइरहेको छ।

व्यवसायीहरूले पुल सञ्चालनमा आएपछि नेपाल–चीनबीचको व्यापार व्यवसाय सहज हुने अपेक्षा व्यक्त गरेका छन्। प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईका अनुसार पुल सञ्चालनसँगै आयात हुने मालसामानको भन्सार प्रक्रिया छिटोछरितो बनाउनका लागि आवश्यक तयारी पूरा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्