आजको दिन किन मनाइन्छ गोरु तिहार, म्ह पूजा र गोवर्द्धन पूजा ?



काठमाडौं,कात्तिक ५ । हिन्दु धर्ममा चेतनाको प्रतिक र सर्वव्रह्म, परमव्रह्म वा परमात्मा भनिने भगवान शिवको बाहन हो– गोरु । तिनै शिवलाई महाकाल पनि भनिन्छ ।

मृत्युको देवता यसराजको अर्को नाम काल हो भने शिवजीको अर्को नाम महाकाल । उनलाई प्रलयको देवता मानिन्छ । त्यस्ता महाकालको भार उठाउने वाल साँढे वा गोरु वा नन्दीको पूजा गरेर यमपञ्चकको चौँथो दिनलाई उत्सव बनाइन्छ ।

काठमाडौँका नेवार समूदायले यस दिन म्हपूजा भनेर आफ्नो शरीरको पूजन गर्छन् । आफ्नो चेतनारुपी आत्मालाई निवास दिने शरीरलाई पूजा गरेर यस शरीरको सुस्वास्थ्य एवम् सबलताको प्रार्थना गर्छन् । हाम्रो आत्मालाई परमात्मासँग साक्षात्कार गराउन शरीरको आवस्यकता पर्छ ।

शिवलाई भेटाउनमा जसरी नन्दीले सघाउँछन्, त्यसरीले नै हाम्रो आत्मालाई परमात्मासँग भेटाउने नन्दी भनेको हाम्रो शरीर हो । यही शरीरले योग, ध्यान, प्रार्थना, पून्य-कर्म, लोकहित र जनकल्याण आदी कर्म गरेर आत्मालाई परमात्मासँग मिलाउनमा सघाउँछ ।

यो त उही कुरा हो । जुसरी हामीले फेसबूक, ट्वीटर, युट्युब वा मोबाइल बैंकिङका एपहरु (सफ्टवयर) चलाउँछौँ– ती सबै आत्मा स्वरुप हुन् । चेतना स्वरुप हुन् । र ती सबै एपहरु चलाउनका लागि मोबाइल डिभाइस (हार्डवयर) हाम्रो शरीर हो । मोबाइल नभए ती एप चलाउन सकिन्न, एप नभए मोबाइलमात्रै भएर पनि चल्दैन ।

हाम्रो आत्माको वहान वा नन्दी नै शरीर हो । त्यसैले आज नन्दीको र शरीरको पूजा हुन्छ । आत्मा र शरीरलाई यही परिपुरक सम्झेर आजको दिन शारीरिक बल, स्फूर्ति, साहस र आरोग्यको प्रार्थना गर्ने प्रचलन छ ।

आजैको दिन गोवर्द्धन पूजा पनि गरिन्छ । द्वापर युगमा भगवान कृष्णले आफ्ना गाउँले गोपालकहरुको रक्षाका लागि गोवर्द्धन पर्वत उठाएर वर्षा रोकिदिएको कथनका आधारमा आज गोवद्र्धन पूजा गरिन्छ । गोवर्द्धन पर्वतलाई पनि रक्षाको प्रतीक मानेर यो पूजा गर्ने चलन छ ।

गाउँघरमा गोबरको एउटा सानो पहाडजस्तो थुम्को बनाउने, त्यो थुम्कोको टुप्पामा सानो खाल्डो पारेर पानी राख्ने र पूजा गर्ने चलन छ । यसले वर्षातको भयबाट मान्छेलाई सुरक्षित राख्छ भन्ने मान्यता छ । खासगरी पशुपालक, गौपालक किसानले यस पर्वलाई विशेष महत्व दिने गरेका छन् ।

किसानले गोरुको पूजा गर्नुको अर्को पनि महत्व छ । पछिल्लो दशकमा खेत जोत्न ट्याक्टर र ढुवानी गर्न विभिन्न मालबाहक साधनहरुको व्यापक प्रयोग बढेको छ । तर एक दशक अघिसम्म पनि पहाडी क्षेत्रमा खेतबारी जोत्न र तराईमा ढुवानीका लागि समेत गोरुको खुब प्रयोग हुने गरेको थियो । समथर भागमा जोत्नका लागि राँगा पनि प्रयोग हुन्थ्यो । तर पहाडका सुर्कासार्कीमा राँगाले जोत्न सम्भव नहुने हुँदा गोरुमात्रै विकल्प थियो ।

यसरी हजारौँ वर्षसम्म गोरुले मान्छेको शारीरिक पोषणका लागि अन्न उब्जाउन सहायक बन्दै आयो । गाईले दूध र गोरुले अन्न दिने कारण पनि यसको महत्व हाम्रो जीवनमा असाधारण छ । त्यसैले मानिसहरुले आफ्ना लागि महत्वपूर्ण मानिएका सबै कुरालाई ‘भगवान’ मानेर पूजा गर्न थालेको हुनसक्छ ।

गोरुको यही परोपकारी सहायतालाई स्मरण गरी आज देशभर गोरु तिहार, म्ह पूजा र गोवद्र्धन पूजाको उत्सव मनाउँदै तिहारको विशेष दिन भाइटीकालाई स्वागत गर्ने चलन छ ।

यसै कारण आज जुनसुकै कुराको पूजन गरे पनि र जुनसुकै परम्परामा मनाए पनि वास्तवमा शरीरको पूजा गर्ने दिन हो । यसकै भरणपोषण गर्ने र यसैको दिर्घायूको कामना गर्ने दिन हो । नन्दीको कानमा बोलेपछि ध्यानमा भएका शिवजीले पनि सुन्छन् भन्ने मान्यताले पनि आफ्नो शरीरको दीर्घायुको कामना गर्ने मौका दिन्छ ।

आजैको दिनबाट चन्द्रमासमा आधारित नेपाल सम्वत् पनि थालनी हुन्छ ।

प्रतिक्रिया दिनुहोस्