जेनजी आन्दोलनको कहर : मुख्य सिजनमै सुनसान नेपाली पर्यटन बजार, अब कहिले उठ्ला ?



काठमाडौं,कात्तिक ५ । काठमाडौंको मुटुबाट शुरु भएको आन्दोलनले नेपालका हिमालदेखि तराईसम्मको पर्यटन बजारलाई एकै झट्कामा हल्लाइदिएको छ । हिमाली ट्रेकिङ मार्गमा चल्ने चहलपहलदेखि काठमाडौंको ऐतिहासिक दरबार क्षेत्रसम्म भर्खरै मात्र चाडपर्वसँगै भित्रिएको पर्यटक सिजनले लय पकड्नै लाग्दा जेनजी आन्दोलनको क्षतिले वातावरण एकाएक मौन बनाइदिएको छ ।

कोभिडको मार, आर्थिक सुस्ती र राजनीतिक अनिश्चितताबाट उबिर्न खोजिरहेको नेपाली पर्यटन उद्योगमाथि गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलन अर्को चोट बनेको छ । यो सिजनमा नेपाली होटलरुका कोठा ८० प्रतिशतसम्म भरिनुपर्ने अपेक्षा थियो । देशको प्रमुख पर्यटन राजधानी काठमाडौंका सडकहरू अहिले सामान्य देखिए पनि पर्यटनको मुटु भने धरमराइरहेको छ ।

एयरपोर्टमा विदेशी यात्रुको भीड निकै कम छ । ट्राभल एजेन्सीका फोनहरूमा नयाँ बुकिङको घण्टी बज्न छोडेका छन् । दशैं–तिहारको लामो बिदा र सेप्टेम्बर–नोभेम्बरको ‘पिक सिजन’को तयारीमा रमाएका व्यवसायीहरू आन्दोलनको आगो निभिसके पनि त्यसको धुवाँ अझै छ्यापिएको महसुस गरिरहेका छन् ।

दुई दिनको हिँसात्मक आन्दोलनले केवल सडक मात्र होइन, नेपाल पर्यटनको प्रतिमानसमेत जलाएको छ । पाँचतारे होटल हिल्टनको आगजनी भएको छ । यी बाहेकका अन्य धेरै होटलहरुमा पनि व्यापाक क्षति पुगेको छ । आन्दोलपछि नै होटल अकुपेन्सी २५–३० प्रतिशतसम्म झरेको खबरहरु आइरहेका छन् । आन्दोलनपछिका केही समय विदेशी एयरलाइन्सको उडान रद्द भएको थियो भने केही मुलुकहरुको भिजिट भिसा रोकिएका थिए ।

यी सबै घटनाले नेपालको पर्यटन बजारलाई अघिल्ला दशकका संकट पछाडिका क्षण सम्झाइदिएका छन् । होटल संघ नेपाल (हान)का अनुसार करिब २५ अर्ब रुपैयाँ बराबरको होटल लगानीमा सीधा असर परेको छ । सबैभन्दा ठूलो धक्का भने राजधानीकै हिल्टनमा पुगेको छ । जहाँ करिब ८ अर्ब रुपैयाँको लगानी छ ।

सिजनमै चलिहरको नेपाल भ्रमणको योजना विदेशी पर्यटकले तत्कालका लागि स्थगित गरेका छन् । होटल बुकिङ क्यान्सिल छन् भने नयाँ प्याकेज खरिदको चासो अझै देखिएको छैन । दशैंकै बिदा पनि धेरै मानिसहरुको घुम्ने योजना अधुरै भए । धेरै विदेशी पर्यटक नेपाल भित्रन सकेन् । अहिले अवस्था सामान्य बने पनि फेरि पुरानो लयमा फर्कन समय लाग्ने पर्यटन व्यवसायीहरु बताउँछन् । अन्तर्राष्ट्रिय बजारमा फैलिएको नकारात्मक सन्देशले आगामी महिनासम्म पनि पर्यटन आगमन सुस्त बनाउने चिन्ता व्यवसायीमा छ ।

कोभिडपछिको पुनरुत्थानको आशामा लगानी बढाएका होटल व्यवसायी अहिले ‘सिजनमै ठप्प’ अवस्थामा पुगेका छन् । सामान्यतया अक्टोबरमा ८० प्रतिशतभन्दा माथि पुग्ने होटल अकुपेन्सी अहिले ३०–४० प्रतिशतमा झरेको बताउँछन् ।
सरकारी स्तरमा तत्काल पर्यटन प्रवर्द्धनको रणनीति र राहत प्याकेज आवश्यक देखिएको छ । पर्यटन प्रवर्द्धन बोर्डले अन्तर्राष्ट्रिय बजारमा सकारात्मक सन्देश पठाउने काममा गति दिनु पर्ने व्यवसायीको सुझाव छ ।

स्थानीय निकाय र निजी क्षेत्र पनि फुर्तिलो हुन जरुरी छ । पर्यटकलाई आकर्षित गर्ने छोटो अवधिका प्याकेज, छूट योजना, ‘नेपाल सेफ टू ट्राभल’ अभियान र एयरलाइनसँग सहकार्य गरेर भाडामा सहजीकरण तत्कालका उपाय हुने तर्क छ ।

नेपाली पर्यटनले कोभिड, आर्थिक सुस्ती र राजनीतिक उथलपुथल जस्ता तीनवटा ठूला आघात पछ्याउँदै आएको छ । अहिले जेनजी आन्दोलनले थपिएको यो चौथो आघातलाई अवसरमा बदल्न सकियो भने मात्रै आगामी महिनामा विदेशी र स्वदेशी पर्यटकको चहलपहल पुन: देख्न सकिने छ । संकटको क्षणलाई अवसरमा बदल्ने सामूहिक प्रयासकै आधारमा मात्र नेपालले आफ्नो पर्यटन पहिचानलाई फेरि विश्वमाझ चम्काउन सक्छ ।

प्रतिक्रिया दिनुहोस्