नेवार समुदायमा म्ह पूजा— आत्मसन्तुष्टि र समृद्धिको कामना
काठमाडौं,कात्तिक ५ । कार्तिक शुक्ल प्रतिपदाका दिन अर्थात् तिहारको चौथो दिन नेवार समुदायले आज म्ह (आत्म) पूजा मनाएका छन्।
प्रत्येक वर्ष यो दिन नेवार समुदायका मानिसहरूले आफ्नो आत्माको पूजा गर्दै आत्मसन्तुष्टि, शान्ति र समृद्धिको कामना गर्छन्। कसैले दिउँसो त कसैले बेलुकी म्ह पूजा गर्ने प्रचलन रहँदै आएको छ।
नेवा समुदायका अगुवा राकेश अवालेका अनुसार मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्त्वपूर्ण भएकाले आत्म पूजा गर्ने परम्परा रहँदै आएको हो। उनले भने, “म्ह पूजा हाम्रो गौरव हो। नयाँ वर्षको सुरुवातसँगै आफ्नो जीवनमा सुख, शान्ति र समृद्धिको कामना गर्दै आत्मसन्तुष्ट रहनका लागि यो पूजा गरिन्छ।”
म्ह पूजाको अर्थ आत्मालाई सन्तुष्ट पार्नु र जीवनलाई सकारात्मक उर्जासँग जोड्नु हो। धार्मिक विश्वासअनुसार आत्मा प्रसन्न भए देवीदेवताहरू पनि प्रसन्न भई आशीर्वाद दिन्छन्।
काठमाडौँ उपत्यका लगायत ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, पनौती, बाह्रबिसे र चौताराजस्ता नेवार समुदायका मुख्य बस्तीहरूमा म्ह पूजा उल्लासपूर्वक मनाइएको छ।

