तनहुँ कारागारका कैदीबन्दीलाई भाइटीका लगाउने अवसर, बिहानदेखि साँझसम्म व्यवस्था
तनहुँ,कात्तिक ६ — तिहारको अवसरमा तनहुँ कारागारका कैदीबन्दीहरूलाई पनि भाइटीका लगाउने अवसर प्रदान गरिएको छ। चाडपर्वमा कैदीबन्दीको मन खल्लो नहोस् भन्ने उद्देश्यले बिहीबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म भाइटीका लगाउने व्यवस्था मिलाइएको कारागार प्रशासनले जनाएको छ।
कारागार प्रशासनका अनुसार, दिदीबहिनीको हातबाट भाइटीका लगाउन पाउने भएपछि कैदीबन्दीहरूको निधार पनि रित्तो रहने छैन। यसअघि दसैँको अवसरमा पनि कैदीबन्दीलाई आफन्तजनबाट टीका लगाउन दिने व्यवस्था गरिएको थियो।
तनहुँ कारागारका जेलर टेकप्रसाद भट्टराईका अनुसार हाल कारागारमा २५० जना कैदीबन्दी रहेका छन्। तीमध्ये महिला कैदी १४ र थुनुवा तीन गरी १७ जना रहेका छन् भने पुरुष कैदी १४५ र थुनुवा ८८ गरी २३३ जना रहेका छन्।
भट्टराईका अनुसार महिला र पुरुष दुवै समूहका कैदीबन्दीलाई भाइटीका लगाउन र लाउन पाउने व्यवस्था गरिएको छ। साइत हेरी टीका लगाउनेले साइतअनुसार र अनुकूल नपुग्नेहरूले साँझ ५ बजेसम्म टीका लगाउन पाउने सुविधा मिलाइएको कारागार प्रशासनले जनाएको छ।

