नुवाकोटको तारकेश्वरमा बजार अनुगमन, म्याद गुज्रिएका खाद्य सामग्री नष्ट
नुवाकोट,कात्तिक ६— चाडपर्वको समयमा गुणस्तरीय खाद्य वस्तुको खरिद–बिक्रीमा जोड दिँदै नुवाकोटको तारकेश्वर गाउँपालिकामा बजार अनुगमन गरिएको छ। पालिकाको निर्देशनमा गरिएको अनुगमनले उपभोक्ता अधिकारको अवस्था सन्तोषजनक रहेको जनाएको छ।
सरोकारवाला कर्मचारी र गाउँ प्रहरीको संयुक्त टोलीले तारकेश्वर–२ को तारुकाघाट र तारकेश्वर–४ को बुधसिंह बजारमा रहेका विभिन्न पसलहरूमा छड्के अनुगमन गरेको हो।
पालिका अध्यक्ष शिव अधिकारीको निर्देशनमा गरिएको अनुगमनका क्रममा म्याद गुज्रिएका, कुहिएका र बिग्रिएका अखाद्य तथा पेय पदार्थ जफत गरी नष्ट गरिएको गाउँपालिकाले जनाएको छ।
लगातार अनुगमनले बजारमा खाद्य सुरक्षाको प्रभावकारितामा सुधार देखिएको र उपभोक्ताको हित सुनिश्चित गर्न यस्ता अनुगमनलाई नियमित रुपमा अघि बढाइने पनि टोलीले जनाएको छ।

