छठ पर्वको तयारीमा मिथिलाञ्चल, पोखरी र नदीघाटमा सरसफाइ र साजसज्जा सुरु
महोत्तरी,कात्तिक ६— तिहार पर्वको समापनसँगै देशका विभिन्न भागमा, विशेषगरी तराई–मधेशमा, छठ पर्वको धमाधम तयारी सुरु भएको छ। मिथिलाञ्चलको प्रमुख चाडका रूपमा मनाइने यस पर्वको तयारीसँगै यहाँका पोखरी, तलाउ र नदीघाटहरूमा सरसफाइ, मर्मत तथा साजसज्जा सुरु गरिएको छ।
जलेश्वर नगरपालिका–५ का संस्कृतिविद् ध्रूव रायका अनुसार सूर्य भगवान र छठी माताको पूजा पानीमै गरिने भएकाले स्थानीय जलाशयहरूमा सरसफाइ र घाट निर्माणको काम तीव्र रूपमा भइरहेको छ। जलेश्वर नगरपालिका–८ का वडा अध्यक्ष विजयकुमार सिंहले खाल्डाखुल्डी पुर्ने, घाट सफा गर्ने र सडक मर्मत गर्ने काम भइरहेको जानकारी दिनुभयो।
मिथिलाञ्चलमा छठ पर्वलाई निष्ठा, श्रद्धा र सूर्य आराधनाको पर्वका रूपमा मानिन्छ। जलेश्वर नगरपालिकाका मेयर सुरेश साह सोनारका अनुसार मिथिलावासीहरूले यो पर्व अत्यन्त श्रद्धा र भव्यताका साथ मनाउने भएकाले तयारी एक साताअघि नै सुरु गरिएको हो।
जलेश्वर नगरपालिका–८ स्थित पाठक पोखरीमा बाँस र काठको प्रयोग गरेर मन्दिर निर्माण, पानीमै तैरिने बाटो, र पाँच सय मिटर लामो पंडाल तयार पारिँदैछ। विभिन्न साजसज्जा र बत्ती जडानको काम भइरहेको छठ पूजा समितिका संयोजक केशव झाले जानकारी दिनुभयो।
त्यसैगरी, जलेश्वर–१ स्थित बरुण सरोवरमा पनि रङ्गीचङ्गी पंडाल र साजसज्जाको काम भइरहेको वडा अध्यक्ष अनिल झाले बताउनुभयो।
महोत्तरीका मटिहानी, गौशाला, औरही, बलवा, लोहारपट्टीलगायत स्थानका नदीघाटहरूमा पनि स्थानीयवासी र समितिहरूले सरसफाइ तथा तयारीलाई तिब्रता दिएका छन्। जिल्ला समन्वय समितिका संयोजक सुमनकुमार लाल कर्णका अनुसार छठ पर्वको तयारीले मिथिलाञ्चलका प्रमुख जलाशयहरू उत्सवमय बन्न थालेका छन्।

