नुवाकोट केन्द्रीय कारागारमा कैदीबन्दीले मनाए सामूहिक तिहार, भाइटीका र देउसी–भैलोमा रमाइलो
नुवाकोट,कात्तिक ७ — नुवाकोटस्थित केन्द्रीय कारागारका कैदीबन्दीहरूले यस वर्षको तिहार पर्व एक–आपसमा खुशीयाली साटासाट गर्दै उल्लासपूर्वक मनाएका छन्। विदुर नगरपालिका–६ खम्पाक्याम्पमा रहेको कारागारमा बिहीबार कैदीबन्दीहरूले भाइटीका लगाउनुका साथै सामूहिक रूपमा देउसी–भैलो खेलेका थिए।
विभिन्न मुद्दामा कैद सजाय पाएका तथा मुद्दा फैसला नहुन्जेलसम्मका लागि बन्दी जीवन बिताइरहेकाहरूले कारागारभित्रै रमाइलोका साथ तिहार मनाएको कारागार कार्यालयले जनाएको छ। कैदीबन्दीहरूले एकआपसमा दाजुभाइ र दिदीबहिनी मानेर सप्तरंगी टीका लगाएका हुन्।
कारागार प्रमुख तथा जेलर भेषबहादुर कुँवरका अनुसार कैदीबन्दीहरूका आफ्ना दिदीबहिनी र दाजुभाइहरू बिहीबार दिनभर कारागारमा पुगेर भाइटीका लगाइदिएका थिए। साथै, कतिपय बन्दीहरूले कारागारमै रहेका साथीहरूलाई दाजुभाइ र दिदीबहिनी मानेर एकआपसमा टिका लगाएका थिए।
कुल ८८९ जना कैदीबन्दीमध्ये ३७ जना महिला कैदीसहित सबैले तिहारको उल्लास साटासाट गर्दै भाइटीका र देउसी–भैलो कार्यक्रम मनाएका थिए। कारागारका तीन वटा ब्लकमा रहेका बन्दीहरूका लागि विशेषरूपमा त्रिपाल हालेर टिका कार्यक्रमको व्यवस्था गरिएको जेलर कुँवरले जानकारी दिनुभयो।
कारागार प्रशासनका अनुसार, यस्तो सामूहिक पर्वले बन्दीहरूको मानसिक सान्त्वना, पारस्परिक सम्बन्ध र सामाजिक आत्मीयता मजबुत बनाउन सहयोग पुर्याउने विश्वास गरिएको छ।

