पोखरामा विदेशी पर्यटकले पनि लगाए भाइटीका, संस्कृतिसँगै पर्यटन प्रवर्द्धनको सन्देश
पोखरा,कात्तिक ७ — दिदीबहिनीले दाजुभाइको सुस्वास्थ्य, आरोग्य र दीर्घायुको कामना गर्दै लगाउने भाइटीका यसपालि पोखरामा विदेशी पर्यटकले पनि लगाएका छन्। होटल संघ पोखरा नेपालले तिहारको अवसरमा बिहीबार आयोजना गरेको १८औं भाइटीका महोत्सवमा १५ देशका सयभन्दा बढी पर्यटकले नेपाली दिदीबहिनीसँग भाइटीका लगाएका हुन्।
संघका अध्यक्ष लक्ष्मण सुवेदीका अनुसार बेलायत, अमेरिका, चीन, भारत, जर्मनी, इजरायल, स्वीडेन, अष्ट्रेलिया, स्पेन, न्युजल्यान्ड, नेदरल्यान्डलगायत देशका पर्यटकले भाइटीका लगाएका थिए। रेन्बो चिल्ड्रन होमका विद्यार्थीहरूले उनीहरूलाई टीका लगाइदिएका थिए।
भाइटीका लगाएका पर्यटकलाई ढाका टोपी र पछ्यौरा उपहार दिइएको थियो। अध्यक्ष सुवेदीका अनुसार संस्कृतिको संरक्षणका साथै पोखराको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले हरेक वर्ष यो महोत्सव आयोजना गरिँदै आएको हो।
कार्यक्रममा सहभागी विदेशी पाहुनाहरूले देउसी–भैलो पनि खेलेका थिए। भाइटीका र देउसीभैलोमा सहभागी अष्ट्रेलियाकी पर्यटक एनीले नेपालीको आत्मीयता, संस्कृति र सत्कारबाट आफू अत्यन्त प्रभावित भएको बताइन्।
महोत्सव संयोजक गणेशराज पहारीका अनुसार कार्यक्रममा तिहार र यमपञ्चकका पाँच दिनका सांस्कृतिक तथा धार्मिक महत्वबारे पनि जानकारी गराइएको थियो।

