नेपाली महिला फुटबल टोली आज इरानसँग मैत्रीपूर्ण खेलमा भिड्दै
काठमाडौं,कात्तिक ७— नेपाली महिला फुटबल टोलीले आज इरानसँग मैत्रीपूर्ण फुटबल खेल्दैछ। भारतको शिलङस्थित जवाहरलाल नेहरू रंगशालामा हुने खेल साँझ सवा ६ बजेबाट सुरु हुनेछ।
नेपालले उज्बेकिस्तानमा सम्पन्न महिला एसियन कप छनोटपछि पहिलोपटक अन्तर्राष्ट्रिय प्रतिस्पर्धा खेल्न लागेको हो। टोलीमा विदेशमा व्यावसायिक फुटबल खेलिरहेका खेलाडीहरू प्रिति राई, सावित्रा भण्डारी ‘साम्बा’, पूजा राई र एन्जिला तुम्बापो सुब्बा पनि सामेल छन्।
नवनियुक्त मुख्य प्रशिक्षक नबिन न्यौपानेको नेतृत्वमा टोली मैदानमा उत्रिँदैछ। प्रि–म्याच कन्फरेन्समा प्रशिक्षक न्यौपानेले अट्याकिङ रणनीतिका साथ खेल्ने र यी मैत्रीपूर्ण खेललाई नयाँ खेलाडीहरू परीक्षण गर्ने अवसरका रूपमा प्रयोग गरिने बताएका छन्।
नेपालले यही श्रृंखलाअन्तर्गत १० कात्तिकमा भारतसँग दोस्रो मैत्रीपूर्ण खेल र १३ कात्तिकमा अर्को एक अनअफिसियल खेल पनि खेल्नेछ।
फिफा वरियतामा भारत ६३औं, इरान ७०औं र नेपाल ८९औं स्थानमा रहेका छन्। नेपालले इरानसँग सन् २०१९ मा भारतमै आयोजना भएको हिरो महिला गोल्डकपमा खेलेको थियो। उक्त खेलमा नेपाल ३–० ले विजयी भएको थियो। सावित्रा भण्डारीले दुई गोल गरेकी थिइन् भने अनिता बस्नेतले एक गोल गरेकी थिइन्।

