१५ नयाँ दल दर्ता प्रक्रिया अध्ययनमा, आगामी निर्वाचन तयारीका लागि आयोग सक्रिय



काठमाडौं,कात्तिक ७ । निर्वाचन आयोगले नयाँ राजनीतिक दल दर्ताका लागि निवेदन दिइएका १५ दलको कागजात स्वीकृतिका लागि अध्ययन गरिरहेको जनाएको छ ।

आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन घोषणा हुनुअघि १० दल र घोषणापछि पाँच दलले दर्ताका लागि निवेदन दिएका छन् । ती सबै दलका कागजात विचाराधीन अवस्थामा रहेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

निर्वाचन घोषणा अघि नै दर्ताका लागि निवेदन दिनेमा उज्यालो नेपाल र राष्ट्रिय परिवर्तन पार्टीलगायतका दल रहेका छन् । तीमध्ये आवश्यक कागजात नपुगेकाले स्वीकृति नदिइएको आयोगले जनाएको छ ।

निर्वाचन घोषणा भएपछि दर्ताका लागि आवेदन दिनेहरूमध्ये धरान उपमहानगरपालिकाका प्रमुख हर्क साङपाङ नेतृत्वको श्रम संस्कृति पार्टी, गोपीलाल न्यौपानेको नेपाल लिबरल पार्टी, अधिवक्ता डा. सुरेन्द्र भण्डारीको नेपाल नागरिक पार्टी, दिनेशराज प्रसाईंको गतिशील लोकतान्त्रिक पार्टी र हिराप्रसाद सोतीको राष्ट्रिय जेनजी पार्टी नेपाल प्रमुख हुन् ।

राष्ट्रिय जेनजी पार्टी नेपालले “क्रस खुकरी” निर्वाचन चिन्हको माग गरेको छ । आयोगका प्रवक्ता भट्टराईका अनुसार उमेर समूह जनाउने नाम र उक्त चिन्ह हालसम्म कसैले नपाएकाले आयोगले प्रचलित व्यवस्था हेरी निर्णय गर्नेछ ।

नेपालको संविधान, २०७२ र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ अनुसार दल दर्ताका लागि विधान, नियमावली, घोषणापत्र, चुनाव चिन्ह, कार्यसमिति विवरण र आय स्रोतको जानकारी अनिवार्य रूपमा बुझाउनुपर्ने हुन्छ ।

निर्वाचन प्रयोजनका लागि आयोगले यही कात्तिक २८ गते नयाँ दल दर्ताको सूचना प्रकाशन गर्ने तयारी गरेको छ । सोका लागि मंसिर १ देखि १० गतेसम्म १० दिनको समय तोकिनेछ ।

यसअघि आयोगमा १२२ दल दर्ता भएका थिए । पछिल्ला विभाजनपछि हाल दलको संख्या १२४ पुगेको छ । आयोगले सबै प्रक्रिया पूरा भएका नयाँ दलहरुलाई प्रमाणपत्र वितरणपछि मात्र आगामी निर्वाचन प्रयोजनका लागि मान्यता दिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्