रसुवाकी गायिका नितु पौडेलको मृत्यु, शरीरमा पेट्रोल खन्याएर आगो लगाएको ५ दिनपछि कीर्तिपुरमा निधन
काठमाडौं,कात्तिक ७ । शरीरमा पेट्रोल खन्याएर आगो लगाएकी रसुवाकी गायिका नितु पौडेलको मृत्यु भएको छ । कीर्तिपुरस्थित वर्न हस्पिटलमा उपचारका क्रममा आज बिहान पौडेलको निधन भएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसपी पवन भट्टराईका अनुसार बिहान ८:२० बजे उपचारका क्रममा पौडेलको मृत्यु भएको पुष्टि गरिएको छ ।
गत शनिबार दिउँसो पौडेलले संगीतकार तथा गायक बाबुल गिरीको कार्यालयमा पुगेर आफ्नो शरीरमा पेट्रोल खन्याई आगो लगाएकी थिइन् । गम्भीर रूपमा जलेकी उनलाई तत्काल उपचारका लागि कीर्तिपुर वर्न हस्पिटल लगिएको थियो ।
पौडेलले आत्मदाह प्रयास गर्नु अघि करिब १२ दिनअगाडि सामाजिक सञ्जालमा निराशा झल्काउने स्टाटस लेखेकी थिइन् । उनले आफ्नो फेसबुक पेजमा “हासिरहने यो मुहारभित्रको उदासीपन हरेकले कहाँ बुझ्न सक्छ र” भन्ने स्टाटस लेखेकी थिइन् ।
पौडेलको निधनसँगै संगीत क्षेत्रका साथी कलाकार र उनका परिचितहरू सामाजिक सञ्जालमा शोक व्यक्त गरिरहेका छन् । प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

