कैलालीमा पानीमा डुबेर तीन बालिकाको मृत्यु
कैलाली,कात्तिक ७ । कैलालीमा तीन बालिकाको पानीमा डुबेर मृत्यु भएको छ । रानी जमरा सिँचाइ प्रणाली अन्तर्गतको कुलरिया नदीमा पौडी खेल्ने क्रममा डुबेर उनीहरूको मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीका अनुसार मृतकहरूमा जानकी गाउँपालिका–५ नवलपुरकी १२ वर्षीया सुलोचना उपाध्याय, १० वर्षीया निषा बजगाई र ८ वर्षीया मानसी बजगाई रहेका छन् ।
शुक्रबार मध्यान्ह पौडी खेल्ने क्रममा एक बालिका डुबेपछि उनलाई बचाउन लाग्दा अन्य दुई पनि डुबेको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ । स्थानीयले देखेपछि उद्धार गरी टीकापुर अस्पताल पुर्याए पनि उपचार अघि नै चिकित्सकले तीनै जनालाई मृत घोषणा गरेका थिए ।
मृतक निषा र मानसी बजगाई दिदीवहिनी भएको र तिहारको अवसरमा मामाको घर गएका बेला घटना भएको प्रहरीले जनाएको छ । सुलोचना उपाध्याय भने बजगाई दिदीवहिनीकी मामाकी छोरी हुन् ।
दुवै बजगाई दिदीवहिनी टीकापुर नगरपालिका–१ ब्लक नम्बर १० मा बस्दै आइरहेका र जनजागृति माध्यमिक विद्यालयमा कक्षा ५ मा अध्ययनरत रहेको विद्यालयले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।

