गायक बाबुल गिरी आत्महत्या दुरुत्साहन आरोपमा पक्राउ



काठमाडौं,कात्तिक ७ । गायक तथा संगीतकार बाबुल (धनबहादुर) गिरीलाई आत्महत्या दुरुत्साहन आरोपमा प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसपी) पवनकुमार भट्टराईका अनुसार गिरीलाई शुक्रबार पक्राउ गरिएको हो। गायिका नितु पौडेलको मृत्यु भएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

गत शनिबार अनामनगरस्थित एक स्टुडियोमा पौडेलले आफैंमाथि पेट्रोल खन्याएर आगो लगाएकी थिइन्। तत्काल उद्धार गरी कीर्तिपुर बर्न अस्पताल पुर्‍याइएकी पौडेलको शुक्रबार बिहान उपचारका क्रममा मृत्यु भएको थियो।

घटनामा गिरी पनि सामान्य घाइते भएका थिए। प्रहरीका अनुसार पौडेल र गिरीबीच करिब नौ वर्षदेखि प्रेम सम्बन्ध रहेको खुलेको छ।

प्रहरीले घटना आत्महत्या दुरुत्साहनसँग सम्बन्धित देखिएको भन्दै थप अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्