रुकुमपश्चिममा जिप दुर्घटना, पाँच जनाको घटनास्थलमै मृत्यु



रुकुमपश्चिम,कात्तिक ७ । रुकुमपश्चिमको बाँफिकोट गाउँपालिका–७ झारमारेमा जिप दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ।

शुक्रबार साँझ जिल्ला सदरमुकाम मुसीकोट खलंगाबाट आठबिसकोट नगरपालिकाको स्यालाखदीतर्फ जाँदै गरेको रा १ ज ४२२ नम्बरको जिप बाँफिकोट गाउँपालिका र आठबिसकोट नगरपालिकाको सिमानास्थित झारमारे लेकमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले जनाएको छ।

प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनका अनुसार दुर्घटनामा पाँच जनाको घटनास्थलमै मृत्यु भएको पुष्टि भएको छ भने केही घाइतेको अवस्था गम्भीर रहेको छ। उद्धार कार्य जारी रहेको र मृतक संख्या बढ्न सक्ने प्रहरीले जनाएको छ।

दुर्घटनाको सूचना पाएलगत्तै नदुवास्थित प्रहरी चौकीबाट टोली घटनास्थल पुगेको र उद्धार कार्यमा जुटेको छ। प्रारम्भिक जानकारीअनुसार जिपमा करिब १८ जना यात्रु सवार थिए।

गम्भीर घाइते चालक टोपजंग बुढालगायतका घाइतेहरूलाई उपचारका लागि नजिकको स्वास्थ्य संस्थामा पठाइएको छ। मृतकहरूको पहिचान खुल्न बाँकी छ।

प्रतिक्रिया दिनुहोस्