त्रिकोणात्मक मैत्रीपूर्ण फुटबलमा नेपाल ३–० ले इरानसँग पराजित



भारत म,कात्तिक ७ । भारतको सिलोङमा जारी त्रिकोणात्मक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण महिला फुटबल प्रतियोगिताको पहिलो खेलमा नेपाल इरानसँग ३–० ले पराजित भएको छ।

शुक्रबार भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिए पनि दोस्रो हाफको सुरुवातमै नेपाल कमजोर सावित भयो। खेलको ४९औं मिनेटमा इरानले विमला विकलाई बिट गर्दै पहिलो गोल गर्‍यो। त्यसपछि ५२औं मिनेटमा फ्रीकिकमार्फत दोस्रो गोल र ५७औं मिनेटमा तेस्रो गोल गर्दै इरानले मात्र आठ मिनेटको अन्तरमा नेपालमाथि तीन गोलको अग्रता लिएको थियो।

तेस्रो गोलपछि एन्जिला तुम्बापो सुब्बाको सट्टा अन्जना राना मगरलाई गोलपोष्टमा उतारिएको थियो। कप्तान सावित्रा भण्डारी ‘साम्बा’, प्रीति राई र रश्मिकुमारी घिसिङले गोल फर्काउने प्रयास गरे पनि सफलता प्राप्त गर्न सकेनन्।

पहिलो हाफमा रेखाले ३०औं मिनेटमा गरेको प्रहार गोलपोष्ट बाहिरिएको थियो भने साम्बाको प्रहार पनि पहिलो हाफकै अन्त्यतिर गोल हुन सकेन। इरानी खेलाडीको १३औं मिनेटमा आएको प्रहारलाई गोलकिपर एन्जिला तुम्बापो सुब्बाले उत्कृष्ट बचाउ गरेकी थिइन्।

यसअघि प्रतियोगिताको पहिलो खेलमा इरानले भारतलाई २–० ले हराएको थियो। लगातार दुई जितका साथ इरानले त्रिकोणात्मक सिरिजको उपाधि जितेको छ।

यो खेलसहित नेपाल र इरान सात वर्षपछि एकअर्काविरुद्ध प्रतिस्पर्धामा उत्रिएका हुन्।

प्रतिक्रिया दिनुहोस्