सरकारद्वारा तीन नयाँ प्रसारण लाइन निर्माण अनुमति, विद्युत् पूर्वाधार विस्तारमा गति
काठमाडौं,कात्तिक ८ — सरकारको ऊर्जाक्षेत्र विस्तार योजनाअन्तर्गत चालु आर्थिक वर्षमा हालसम्म तीन नयाँ प्रसारण लाइन निर्माणका लागि अनुमति प्रदान गरिएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको विद्युत् विकास विभागले उक्त अनुमति दिएको हो।
विभागका अनुसार भेरी करिडोरको बिजुली राष्ट्रिय प्रणालीमा जोड्नका लागि महत्वपूर्ण नलगाड–मैनताडा प्रसारण लाइनलाई निर्माण अनुमति दिइएको छ। ७५ किलोमिटर लामो र ४०० केभी क्षमताको उक्त प्रसारण लाइनले २,४०० मेगावाट बराबरको बिजुली प्रवाह गर्न सक्नेछ। राष्ट्रिय प्रसारण ग्रीड कम्पनीले यसको निर्माणको जिम्मा पाएको छ।
त्यस्तै, ३३ केभी क्षमताको खोरुङगा खोला प्रसारण लाइन निर्माणका लागि पनि अनुमति दिइएको छ। चार दशमलव ३८ किलोमिटर लामो उक्त प्रसारण लाइनले ४.८ मेगावाट बिजुली प्रवाह गर्नेछ। जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रणालीमा जोड्न यो प्रसारण लाइन निर्माण हुने भएको हो।
यसैगरी, सुपर सर्दी खोला हाइड्रोपावर परियोजनाले उत्पादित बिजुली प्रणालीमा जोड्न ३३ केभी क्षमताको तीन दशमलव ६८ किलोमिटर लामो प्रसारण लाइन निर्माण गर्दैछ। सो लाइनमार्फत २.९ मेगावाट बिजुली प्रवाह हुनेछ।
विद्युत् विकास विभागका अनुसार हालसम्म २७४ वटा साना–ठूला प्रसारण लाइन निर्माणका लागि अनुमतिपत्र जारी गरिसकिएको छ। चालु आवमा मात्रै ८ वटा प्रसारण लाइन निर्माणका लागि सर्वेक्षण अनुमति पनि प्रदान गरिएको विभागले जनाएको छ।
यी परियोजनामा मध्य चमेलिया (१३२ केभी), बेल्डिया सोलार पावर, फालेखु खोला १३२ केभी, जानकी सोलार पावर, दुधकोशी पाँचौँ २२० केभी, समुन्द्रटार–लप्सेफेदी २३२ केभी, डाँडाँखेती–बुर्तीबाङ १३२ केभी र सानी भेरी १३२ केभी प्रसारण लाइन परियोजना समावेश छन्।
हालसम्म विभागले १४४ प्रसारण लाइन परियोजनालाई सर्वेक्षण अनुमति प्रदान गरिसकेको छ भने थप २१ प्रसारण लाइन परियोजनाले अनुमतिका लागि आवेदन दिएका छन्। चालु आर्थिक वर्षमा मात्र ११ नयाँ आवेदन परेका छन्।
विद्युत् विकास विभागका अधिकारीहरूका अनुसार प्रसारण लाइन विस्तारले आगामी वर्षहरूमा देशभर स्थिर र भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्न सहयोग गर्नेछ।

