सर्पदंशबाट पाँच वर्षीय बालकको मृत्यु



झापा,कात्तिक ८ — झापाको शिवसताक्षी नगरपालिका–७ लालपानीमा सर्पको डसाइबाट पाँच वर्षीय बालकको मृत्यु भएको छ। मृत्यु हुने बालक मनकुमार तामाङका छोरा सक्षम तामाङ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

शुक्रबार साँझ घर नजिकैको बाँसको झ्याङ छेउमा खेलिरहेका बेला सक्षमलाई विषालु गोमन सर्पले बायाँ खुट्टामा टोकेको थियो। खुट्टामा चोट लागेर बेहोस भएपछि उनलाई उपचारका लागि विर्तासिटी अस्पताल, बिर्तामोड लगिएको थियो।

बालक खेलेको स्थान नजिकै गोमन सर्प फेला परेपछि सर्पदंशको शङ्का पुष्टि भएको थियो। अवस्था गम्भीर भएपछि नेपाली सेनाको सर्पदंश उपचार केन्द्र, चारआली लैजाने क्रममा साँझ करिब ५ बजे बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्