सल्यानको शारदा नदी किनारमा अज्ञात महिलाको शव फेला
सल्यान,कात्तिक ८— सल्यानको शारदा नगरपालिका–१२ गाईनेटानजिक शारदा नदी किनारमा एक अज्ञात महिलाको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) डा. हेमबहादुर केसीका अनुसार शव पानीमा तैरिरहेको अवस्थामा भेटिएको हो।
प्रहरीका अनुसार मृत महिलाको शरीरको आधा भागमा कपडा नभएको र शरीरका विभिन्न भागमा हिलो लागेको अवस्थामा शव फेला परेको थियो। हालसम्म मृतकको पहिचान खुल्न सकेको छैन।
घटनास्थलमा जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय शीतलपाटीबाट खटिएको प्रहरी टोलीले मुचुल्का कार्य सम्पन्न गरी शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्यान लैजाने तयारी गरेको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान सुरु गरेको जनाएको छ।

