तिहारलगत्तै मुस्ताङमा पर्यटकको भीड — एकैदिन छ हजार ८५९ जना भित्रिए



मुस्ताङ,कात्तिक ८— धार्मिक र पर्यटकीय जिल्ला मुस्ताङमा तिहारको भाइटीका सकिएको भोलिपल्ट मात्रै एकैदिन ६ हजार ८५९ पर्यटक प्रवेश गरेका छन्। जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार शुक्रबार मात्र ६ हजार ५०६ आन्तरिक र ३५३ विदेशी पर्यटक बेनी–जोमसोम सडकमार्ग हुँदै मुस्ताङ आएका हुन्।

तिहारलगत्तै मुक्तिनाथ दर्शन र हिमाली क्षेत्रको प्राकृतिक सौन्दर्य हेर्न मुस्ताङ आउनेहरूको भीड बढेको प्रहरीले जनाएको छ। शुक्रबार दिनभर २ हजार १६८ यात्रुवाहक सवारीसाधन म्याग्दी हुँदै मुस्ताङ प्रवेश गरेका थिए।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाका अनुसार कात्तिक १ देखि ७ गतेसम्म मात्रै २० हजार ५०९ जना आन्तरिक र बाह्य पर्यटक मुस्ताङ पुगेका छन्। तीमध्ये १७ हजार १२९ आन्तरिक र ३ हजार ३८० विदेशी पर्यटक रहेका छन्।

साउनदेखि असोजसम्मको अवधिमा मात्रै एक लाख १८ हजार ५८९ पर्यटक मुस्ताङ आएका थिए — जसमा ९१ हजार १२५ आन्तरिक र २७ हजार ४६४ विदेशी रहेका छन्।

मुक्तिनाथ विकास समितिका कोषाध्यक्ष प्रमेश गुरुङका अनुसार तिहारपछि मुक्तिनाथमा दर्शनार्थीको सङ्ख्या अत्यधिक बढेकी छ। बिहानैदेखि मन्दिर परिसर पूरै खचाखच भरिएको र दर्शन सहज बनाउन सुरक्षा निकाय र स्वयंसेवक खटाइएका छन्।

पर्यटकको अत्यधिक चापसँगै बेनी–जोमसोम सडकमा ट्राफिक जाम, होटलमा बस्ने ठाउँको अभाव र व्यवस्थापन चुनौती पनि देखिएको छ। उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजुप्रसाद लालचनका अनुसार बेनीदेखि मुक्तिनाथसम्मका करिब ३०० होटल सबै पर्यटकले भरिएका छन्।

लालचनका अनुसार दसैँ, तिहार र छठ जस्ता लामो बिदाका चाडपर्वमा युवापुस्ताको प्रमुख घुमफिर गन्तव्य मुस्ताङ बन्दै गएको छ। राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडकमार्ग सहज हुँदै जाँदा यहाँको पर्यटन व्यवसायमा नयाँ उभार आएको उनले बताए।

प्रहरीले भने चाडपर्वका बेला मुस्ताङ आउने पर्यटकहरूलाई पहिले नै होटल बुकिङ गरेर मात्र यात्रा गर्न अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्