बालुवाटारमा उच्चस्तरीय सुरक्षा बैठक सम्पन्न, देशको वर्तमान अवस्थाबारे सूक्ष्म विश्लेषण
काठमाडौं,कात्तिक ८ — मुलुकको वर्तमान सुरक्षा अवस्थाको समीक्षा र आवश्यक कदमका लागि प्रधानमन्त्री निवास बालुवाटारमा आज उच्चस्तरीय सुरक्षा बैठक सम्पन्न भएको छ।
बैठकमा प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव रामेश्वर दङ्गाल तथा चारै सुरक्षा निकायका प्रमुखहरू सहभागी भएका थिए। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा सुरक्षा प्रमुखहरूले देशभरको हालको स्थिति, सम्भावित चुनौती र आगामी रणनीतिबारे विस्तृत जानकारी दिएका थिए।
बैठकपछि गृहमन्त्री ओमप्रकाश अर्यालले सञ्चारकर्मीसँग कुरा गर्दै भने, “सुरक्षा अवस्थाबारे सूक्ष्म विश्लेषण गरिएको छ। विभिन्न समूहले प्रदर्शनका तयारी गरिरहेका जानकारीहरू प्राप्त भएका छन्। आफ्नो राजनीतिक माग जिम्मेवार ढङ्गले राख्न सबै स्वतन्त्र छन्।”
उनले थपे, “राजनीतिक मुद्दा समाधानका लागि सरकार संवादको ढोका खुला राखेको छ र सम्बद्ध पक्षहरूसँग वार्ता गर्न तयार छ।”
बैठकमा देशको आन्तरिक सुरक्षालाई सुदृढ पार्ने, आन्दोलन तथा प्रदर्शन शान्तिपूर्ण राख्न आवश्यक तयारी र समन्वयबारे पनि छलफल गरिएको बताइएको छ।

