हमासको आक्रमणमा ज्यान गुमाएका विपीन जोशीको सम्झनामा ‘विपीन चोक’ नामकरण
कञ्चनपुर,कात्तिक ९ — इजरायल–हमास युद्धका क्रममा हमासद्वारा अपहरणमा परी ज्यान गुमाएका नेपाली विद्यार्थी विपीन जोशीको सम्झनामा कञ्चनपुरको भीमदत्त नगरपालिका–३ स्थित मालिकार्जुन टोलमा ‘विपीन चोक’ नामकरण गरिएको छ।
शनिबार साँझ आयोजित कार्यक्रममा दीप प्रज्वलनसहित टोलको नामकरण गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष गगनसिंह धामीले विपीन वडाका पूर्वखेलाडीसमेत भएकाले उनको सम्झनामा हरेक वर्ष वडास्तरीय क्रिकेट प्रतियोगिता आयोजना गरिने घोषणा गरे।
वडाध्यक्ष धामीले भने, “साहसिक व्यक्तित्व स्व. जोशी सकुशल घर फर्किने आशामा हामी दुई वर्षसम्म प्रतीक्षा गर्यौं। तर उहाँले आफ्ना साथीहरूको ज्यान बचाउन बलिदान दिनुभयो। उहाँको सम्मानमा बन्ने वडा कार्यालयमा उहाँको तस्बीर राख्नेछौँ र उहाँकै नाममा वार्षिक प्रतियोगिता आयोजना गर्नेछौँ।”
उनका अनुसार स्थानीयवासीको चाहनाअनुसार विपीन चोक नामकरण गरिएको हो र यसलाई नगरपालिकाको कार्यपालिका बैठकबाट औपचारिक रूपमा निर्णय गराउने प्रक्रिया सुरु हुनेछ।
दीप प्रज्वलन कार्यक्रममा विपीनकी बहिनी पुष्पा जोशीसहित टोलवासी र स्थानीय युवाहरूको उपस्थिति थियो। उपस्थितले विपीनप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उनको बलिदानले नेपाली युवाको साहस र मानवीयताको उदाहरण प्रस्तुत गरेको उल्लेख गरे।

