आइसिसी विश्वकप लिग–२ : अमेरिकाविरुद्ध नेपाल फिल्डिङमा
दुबई, कात्तिक ९ — आइसिसी विश्वकप क्रिकेट लिग–२ को पाँचौँ त्रिकोणात्मक एकदिवसीय शृङ्खलाअन्तर्गत अमेरिकाविरुद्धको खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ। खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी छ।
यस शृङ्खलामा नेपाल, अमेरिका र युएई सहभागी छन्। लिग–२ अन्तर्गत नेपालले हालसम्म चार शृङ्खलामा १६ खेल खेलेर १२ अंक जोडेको छ र तालिकाको सातौँ स्थानमा रहेको छ। त्यस्तै, अमेरिकाले २० खेलमा २८ अंकका साथ दोस्रो स्थान कायम राखेको छ।
लिग–२ मा सहभागी आठ राष्ट्रले नौ–नौ शृङ्खला खेल्नेछन्, जसमा प्रत्येक टोलीले ३६ खेल खेल्नुपर्नेछ। तीन शृङ्खला घरेलु मैदानमा र बाँकी छ शृङ्खला विदेशी मैदानमा खेलिनेछन्। प्रतियोगिताको शीर्ष चार टोलीले सन् २०२७ को एकदिवसीय विश्वकपको छनोट प्रतियोगितामा सोझै स्थान पाउनेछन्।
अमेरिकाविरुद्ध आजको खेलका लागि नेपाली टोलीमा कप्तान रोहित पौडेलसहित दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आशिफ शेख, भीम सार्की, गुलशनकुमार झा, आरिफ शेख, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र ललित राजवंशी रहेका छन्।

