झोलुङ्गे पुलका ६ ठेक्का तोड्ने तयारी, ८ पुल अलपत्र पर्ने सम्भावना
काठमाडौँ,कात्तिक ९— सिंचाइ र सडकका रुग्ण ठेक्का तोड्ने सरकारी निर्णयपछि अब झोलुङ्गे पुलका ठेक्कासमेत तोड्ने प्रक्रिया सुरु गरिएको छ। जेनजी आन्दोलनपछि बनेको सरकारले पुराना, लामो समयदेखि ठप्प रहेका ठेक्काहरूलाई रद्द गर्ने अभियानलाई तीव्रता दिएको हो।
सिंचाइका १२ र सडकका ४० ठेक्का तोड्ने प्रक्रिया अघि बढाइरहेको सरकारले हाल झोलुङ्गे पुलका ६ ठेक्का रद्द गर्ने तयारी थालेको छ।
शहरी विकास मन्त्रालय अन्तर्गतको स्थानीय पूर्वाधार विकास विभागले खोटाङको पिलम्पा र बुवाखोला, खोटाङ–उदयपुर जोड्ने सुनकोशी–दिप्रुङ, गोरखाको थुमी–बुधेगरा र क्योग्मा, झापाका कमला खोला दोभा र बिरिङ–बाह्रादशी तथा धादिङको लिखु–धुनिबेशीमा झोलुङ्गे पुल निर्माणका लागि भएका ठेक्का सम्झौता तोड्ने तयारी गरेको हो।
यी ६ ठेक्का तोडिँदा ८ वटा झोलुङ्गे पुल अलपत्र पर्ने सम्भावना रहेको छ। ठेक्का तोडिएपछि ती पुल निर्माणका लागि नयाँ प्रक्रिया सुरु गर्नुपर्नेछ, अन्यथा ती स्थानमा पुल निर्माण कार्य अधुरै रहने देखिएको छ।
हाल सरकारले खर्च कटौती नीति अपनाइरहेकाले यी ठेक्काहरू पुनः खोल्ने वा नयाँ ठेक्का प्रक्रिया अघि बढाउने विषयमा अझै स्पष्टता छैन।

