थाइ एयर एसियाको भैरहवामा पुनः उडान सुरु, हप्तामा दुईपटक बैंकक–भैरहवा सेवा
काठमाडौँ,कात्तिक ९ — थाइल्यान्डको एयर एसियाले आजदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आफ्नो उडान पुनः सुरु गरेको छ। विन्टर सिजन सुरुसँगै एयर एसियाको पहिलो उडान आज दिउँसो सवा १२ बजे भैरहवा अवतरण गर्ने र सवा १ बजे फर्कने तालिका रहेको विमानस्थलका सूचना अधिकारी विनोदसिंह रावतले जानकारी दिए।
नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमति प्राप्त एयर एसियाले हप्तामा दुईपटक — आइतबार र बुधबार — बैंकक–भैरहवा–बैंकक उडान सञ्चालन गर्नेछ। कम्पनीले १८० सिट क्षमताको ए३२० न्यारोबडी जहाज प्रयोग गर्नेछ।
थाइ एयर एसियाले गत वर्ष पनि विन्टर सिजनमा भैरहवा उडान सञ्चालन गरेको थियो भने चैत महिनाबाट उडान स्थगित गरेको थियो। नयाँ सिजनको सुरुवातसँगै पुनः नियमित उडान सुरु भएको हो।

