भक्तपुर क्यान्सर अस्पतालमा ‘प्यालिएटिभ केयर’ सेवा प्रभावकारी, देशभर विस्तार गर्ने तयारी
काठमाडौँ, कात्तिक १०। क्यान्सरको अन्तिम चरणमा रहेका बिरामीका लागि सान्त्वनासहितको उपचार सेवा ‘प्यालिएटिभ केयर’ भक्तपुर क्यान्सर अस्पतालमा प्रभावकारी रूपमा सञ्चालन हुँदै आएको छ। यो सेवाबाट क्यान्सरका बिरामीलाई हुने दुखाइ, असजिलोपन र मानसिक तनाव कम गर्न सहयोग पुग्दै आएको अस्पतालले जनाएको छ।
अस्पतालका कार्यकारी निर्देशक डा. उज्ज्वल चालिसेका अनुसार प्यालिएटिभ केयरले क्यान्सरका बिरामीका लागि ठूलो राहत पुर्याएको छ। “उपचारको क्रममा हुने साइड इफेक्ट, मानसिक तनाव र पीडा कम गर्न यो सेवा अत्यावश्यक हुन्छ,” उहाँले भन्नुभयो।
डा. चालिसेले बिरामीको अवस्थाअनुसार मनोसामाजिक परामर्श, शारीरिक सहजता र परिवारसँगको आत्मीय व्यवहारमार्फत उपचार हुने बताए। प्यालिएटिभ केयरमा नर्स राधिका मकाजूले बिरामीको इच्छालाई प्राथमिकता दिने बताउँदै, “हामी बिरामीसँग एउटै परिवारजस्तो भएर बस्छौं,” भन्नुभयो। उहाँका अनुसार बिरामीको जन्मदिन र चाडबाड पनि अस्पतालमै मनाइने गर्छ।
अस्पतालले अब देशभर प्यालिएटिभ केयर सेवा विस्तार गर्ने तयारी गरेको छ। यसका लागि प्यालिएटिभ केयर फन्ड स्थापना गरिएको छ, जसबाट आर्थिक रूपमा कमजोर बिरामीलाई निःशुल्क सेवा दिइनेछ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार सरकारले २०२५–२०३५ को राष्ट्रिय प्यालिएटिभ केयर रणनीति स्वीकृत गरिसकेको छ, जसले देशभर सेवा विस्तारमा सहयोग पुर्याउनेछ।
भक्तपुर क्यान्सर अस्पतालमा हाल सर्जरी, रेडियसन, केमोथेरापी, इम्युनोथेरापी, ल्याब सेवा, सिटी स्क्यानलगायत उपचार उपलब्ध छन्। यसैबीच, लायन्स क्लब अफ बागमती क्यान्सर केयर, डिके मेडिसेल्स, इस्ट वेस्ट कन्सर्न र श्रीमती उषा दीक्षितले अस्पतालको फन्डमा आर्थिक सहयोग गरेका छन्।

