नुवाकोटका पञ्चकन्याका किसानलाई काँक्रा खेतीबाट राम्रो आम्दानी
नुवाकोट, कात्तिक १० । यस वर्षको सिजनमा नुवाकोटको पञ्चकन्या गाउँपालिका–३ र ५ का किसानले काँक्रा खेतीबाट उल्लेखनीय आम्दानी गरेका छन्। गाउँमै व्यापारीहरू पुगेर काँक्रा खरिद गर्न थालेपछि किसानहरू उत्साहित भएका हुन् ।
किसानले औसत रूपमा करिब १० हजार रुपैयाँ बराबरको बीउ, मल र श्रम खर्च गरी खेती गरेका थिए। तीमध्ये एक किसान जुनकीरी तामाङका अनुसार यस सिजनमा ७ देखि ८ क्विन्टलसम्म काँक्रा उत्पादन भएको छ।
“किलोको ५० रुपैयाँमा बिक्री गर्दा लगानीको तुलनामा तेब्बर नाफा भएको छ,” जुनकीरीले बताइन्। उहाँका अनुसार बजारको सहज पहुँच र उत्पादनमा वृद्धि भएपछि आगामी वर्ष अझ ठूलो क्षेत्रफलमा काँक्रा खेती विस्तार गर्ने योजना छ।
पञ्चकन्याका घलेगाउँ, नेवारपानी, चुहानडाँडा र जैसिगाउँका एक सयभन्दा बढी घरधुरीले यस वर्ष काँक्रो खेती गरेका छन्। किसानहरूले उत्पादन गरेको काँक्रो स्थानीय बजारसँगै ढिकुरे, छहरे, खरानीटार, विदुर, बट्टार, त्रिशूली हुँदै काठमाडौंसम्म पठाउने गरेका छन्।
स्थानीय कृषक फूलमान तामाङका अनुसार रोपेको करिब ४५ देखि ५० दिनमै काँक्रो फल्न सुरु गर्छ र तीन महिनाभित्र सकिएपछि अर्को बाली लगाउन जमिन तयार हुन्छ। “यो खेती छोटो अवधिमा राम्रो आम्दानी दिने भएकाले धेरै किसान यसको आकर्षणमा छन्,” तामाङले भने।
पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङ (रमेश)लेयातायात सहज भएपछि गाउँमै उत्पादन भएको काँक्रो सहजै बजारसम्म पुग्ने र किसानले राम्रो आम्दानी गर्न थालेको बताए ।

