देशभर पश्चिमी वायू र न्यून चापीय प्रणालीको प्रभाव, उच्च पहाडमा वर्षा र हिमपातको सम्भावना
काठमाडौँ, कात्तिक १० । देशभर हाल पश्चिमी वायूको प्रभावसँगै अरव सागरमा विकसित भएको न्यून चापीय प्रणालीको असर परेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यसको प्रभावले आज देशका धेरैजसो स्थानमा आंशिकदेखि पूर्ण बदलीको अवस्था रहने छ।
दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा सामान्यतया आंशिक बदली रहनेछ भने बाँकी तराई क्षेत्रहरूमा पनि आंशिक बदली रहने पूर्वानुमान गरिएको छ। महाशाखाका अनुसार देशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना छ।
त्यसैगरी, आज राति बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहितका पहाडी भूभागमा बदली रहने र तराई क्षेत्रमा आंशिक बदली रहने जनाएको छ। गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा मध्यम वर्षा वा हिमपात हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाले उच्च पहाडी क्षेत्रका बासिन्दालाई आवश्यक सावधानी अपनाउन अनुरोध गर्दै यात्रु तथा किसानहरूलाई पनि मौसम अनुसारको तयारी गर्न सुझाव दिएको छ।

