देशभर डेङ्गु सङ्क्रमितको संख्या ६ हजार नाघ्यो, पाँच जनाको मृत्यु
काठमाडौँ, कात्तिक १० । देशभर डेङ्गु सङ्क्रमण तीव्र रूपमा फैलिँदै गएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)का ताजा तथ्याङ्क अनुसार हालसम्म ७५ जिल्लाबाट ६ हजार ६६८ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ। सोही अवधिमा ५ जनाको मृत्यु समेत भएको महाशाखाका कीटजन्य शाखा प्रमुख डा. गोकर्ण दाहालले जानकारी दिनुभयो।
डा. दाहालका अनुसार हालसम्म डोल्पा र मनाङ गरी दुई जिल्लामा मात्र डेङ्गु सङ्क्रमण देखिएको छैन। अन्य सबै जिल्लामा डेङ्गु फैलिइसकेको छ।
प्रदेशगत रूपमा हेर्दा, बागमती प्रदेशमा सबैभन्दा बढी सङ्क्रमण देखिएको छ। बागमतीमा १,६४९ जना, गण्डकीमा १,६३१ जना, लुम्बिनीमा १,११७ जना, कोशीमा ८९६ जना, सुदूरपश्चिममा ७६२ जना, कर्णालीमा ४७४ जना, र मधेश प्रदेशमा १३९ जनामा डेङ्गु पुष्टि भएको छ।
सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार डेङ्गु रोग एडिज जातका लामखुट्टेको टोकाइबाट सर्छ, जसले सफा पानी जम्मा हुने भाँडो, ट्यांकी वा फूलदानीमा अण्डा फाल्ने गर्छ।
डेङ्गुका प्रमुख लक्षणमा उच्च ज्वरो, शरीर दुख्ने, जोर्नी तथा मांसपेशी दुख्ने, आँखाको गेडी र टाउको दुख्ने, वाकवाकी वा वान्ता हुने, शरीरमा राता दाग आउनु, पखाला लाग्ने र खाना खान मन नलाग्ने जस्ता समस्या देखिन्छन्।
डा. पुनले डेङ्गु सङ्क्रमणको समयमा चिकित्सकको सल्लाह बिना औषधि सेवन नगर्न चेतावनी दिनुभयो। उहाँले थप भन्नुभयो, “यदि ज्वरो, खोकी वा श्वास फेर्न गाह्रो हुने समस्या देखा परेमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा गएर परामर्श लिनुपर्छ।”
चिकित्सकहरूका अनुसार डेङ्गु सङ्क्रमणको जोखिम आगामी कात्तिक महिनासम्म रहन सक्ने भएकाले सर्वसाधारणलाई अझ सचेत रहन र लामखुट्टे नियन्त्रणमा ध्यान दिन आग्रह गरिएको छ।

