राष्ट्रपति पौडेलद्वारा गुहेश्वरीमा छठी माताको पूजाआराधना



काठमाडौँ, कात्तिक १० । राष्ट्रपति रामचन्द्र पौडेलले पशुपति क्षेत्रस्थित गुहेश्वरी मन्दिरअघि बागमती किनारामा निर्माण गरिएको छठघाटमा पुगेर छठी माताको पूजा आराधना र अस्ताउँदो सूर्यलाई अर्घदान गर्नुभयो। उहाँसँगै प्रथम महिला सविता पौडेलले पनि पूजास्थलमा उपस्थित रही सूर्यलाई अर्घ अर्पण गर्नुभयो।

काठमाडौं उपत्यकाका कमलपोखरी, गुहेश्वरी, गौरीघाटलगायत स्थानमा छठ पूजास्थलहरू निर्माण गरी ब्रतालुहरूले विधिवत रूपमा अस्ताउँदो सूर्यलाई अर्घ दिँदै छठी माताको पूजाअर्चना गरिरहेका छन्।

चार दिनसम्म मनाइने छठ पर्वको तेस्रो दिन, अर्थात् मुख्य दिन आज साँझ, देशभरका तराई–मधेशका जलाशयहरूमा भक्तजनहरूले अस्ताउँदो सूर्यको आराधना गर्दै छठ पर्व मनाइरहेका छन्।

कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने यस पर्वमा ब्रतालुहरूले चोखो खानपान गरी शुद्ध भएर बस्ने, उपवास राख्ने र सूर्यदेव तथा छठी माताको पूजा गर्ने परम्परा रहेको छ।

आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिएपछि, भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै छठ पर्व विधिवत रूपमा सम्पन्न गरिने परम्परा छ।

प्रतिक्रिया दिनुहोस्