सुत्केरीको मृत्युपछि किष्ट मेडिकल कलेजमा तनाव, आफन्तद्वारा तोडफोड र प्रदर्शन
ललितपुर, कात्तिक १० — ललितपुरस्थित किष्ट मेडिकल कलेज सुत्केरी महिलाको मृत्यु भएपछि आइतबार बिहानदेखि तनावग्रस्त बनेको छ।
खोटाङ घर भएकी ३४ वर्षीया मीनाश्री राईको सुत्केरी गराउने क्रममा मृत्यु भएपछि आफन्तजनले अस्पताल परिसरमा प्रदर्शन गर्दै तोडफोड गरेका हुन्। उनीहरूले ‘किष्ट अस्पताल बन्द गर’, ‘दोषीलाई कारबाही गर’ र ‘मीनाश्री राईलाई न्याय दे’ भन्ने नारासहित प्रदर्शन गरेका थिए।
प्रदर्शनपछि सुरक्षाकर्मीले अस्पताल परिसरलाई घेराबन्दी गर्दै प्रदर्शनकारीलाई बाहिर निकालेका छन्। अहिले स्थिति नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।
खोटाङकी राई कात्तिक ७ गते सुत्केरी हुनका लागि किष्ट अस्पतालमा भर्ना भएकी थिइन्। उनले गर्भावस्थाको सुरुवाती चरणदेखि नै सो अस्पतालमा स्वास्थ्य परीक्षण गराउँदै आएकी थिइन्। चिकित्सकहरूले उनको अवस्था सामान्य रहेकाले नर्मल डेलिभरी सम्भव हुने बताएका थिए।
मृतकका दाइ देवेन्द्र राईका अनुसार, “कात्तिक ७ गते बिहान बहिनी आफैं हिँडेर अस्पताल पुगेकी थिइन्। साँझसम्म पनि अस्पतालले नर्मल डेलिभरी हुने आश्वासन दिएको थियो, तर राति अवस्था गम्भीर बनेपछि उपचारकै क्रममा उनको मृत्यु भयो।”
परिवारले अस्पतालमाथि चरम लापरवाहीको आरोप लगाएका छन्। उनीहरूले जबरजस्ती नर्मल डेलिभरी गराउँदा घाउ भएर अत्यधिक रगत बग्दा मृत्यु भएको दाबी गरेका छन्। “यत्रो ठूलो अस्पतालमा ब्लड बैंक छैन, रगत खोज्न आफैं पठायो, त्यो पनि अन्त्यमा,” दाइ देवेन्द्रको आरोप छ।
अस्पताल प्रशासनले भने उपचारमा कुनै लापरवाही नभएको दाबी गरेको छ। अस्पतालका एक चिकित्सकले मीनाश्रीको मृत्यु उच्च रक्तचापका कारण भएको बताउँदै घटना अनुसन्धानका लागि पूर्ण सहयोग गर्ने बताएका छन्।
मृतकका आफन्तले भने “उपचारमा संलग्न चिकित्सकले खुला रूपमा विवरण दिनुपर्छ,” भन्दै अस्पतालमाथि थप कारबाहीको माग गरेका छन्।
घटनापछि ललितपुर प्रहरी र अस्पताल प्रशासनबीच छलफल भई स्थिति नियन्त्रणमा लिइएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाइरहेको जनाएको छ।

