रसुवागढी नाकामा फर्जी प्रवेश पास वितरणको विरोध, युवाहरूले प्रशासनलाई ज्ञापनपत्र बुझाए
रसुवा, कात्तिक १०— चीनसँगको प्रमुख व्यापारिक नाका रसुवागढीमा फर्जी रूपमा प्रवेश पास वितरण भइरहेको आरोप लगाउँदै स्थानीय युवाहरूले शुक्रबार जिल्ला प्रशासन कार्यालय, गोसाइकुण्ड गाउँपालिका–२ टिमुरे वडा कार्यालयका वडा अध्यक्ष तथा अध्यागमन कार्यालयमा औपचारिक ज्ञापनपत्र बुझाएका छन्।
युवाहरूले ज्ञापनपत्रमार्फत रसुवाबासीका लागि मात्र वितरण गरिनुपर्ने प्रवेश पास बाहिरी जिल्लाका व्यक्तिहरूलाई आर्थिक लाभका लागि फर्जी रूपमा वितरण गरिएको दाबी गरेका छन्। उनीहरूले यस्तो कार्यले कानूनी मापदण्ड उल्लङ्घन गर्नुका साथै सीमाको सुरक्षा, स्थानीयको विश्वास र राष्ट्रिय छविमाथि समेत प्रतिकूल असर पारेको उल्लेख गरेका छन्।
फर्जी पास निर्माण र वितरणमा संलग्न व्यक्तिहरूको तत्काल छानबिन गरी कानूनी कारबाही गर्न युवाहरूले माग गरेका छन्। साथै, विगतमा वितरण गरिएका सबै पुराना पास खारेज गरी प्रविधिमैत्री ई-पास प्रणाली तत्काल लागू गर्न र रसुवाबासीका लागि मात्र प्रवेश पास जारी गर्न उनीहरूको जोडदार माग छ।
युवा विशाल तामाङका अनुसार, “यो आन्दोलन कुनै राजनीतिक उद्देश्यका लागि होइन, स्थानीयको हक, अधिकार र पारदर्शी प्रशासनिक प्रणालीको संरक्षणका लागि गरिएको हो।”
साथै, युवाहरूले रसुवागढी नाकातर्फ जाने सडक वर्षा र पहिरोका कारण बारम्बार अवरुद्ध हुने भएकाले तत्काल मर्मत, व्यवस्थापन र स्तरोन्नतिको व्यवस्था गर्न सरकारसँग पनि आग्रह गरेका छन्।

