देशभर तीन दिनसम्म हिमपातको सम्भावना, मौसम पूर्वानुमान महाशाखाको सतर्कता आग्रह



काठमाडौं, कात्तिक १० — जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले सोमबार रातिदेखि तीन दिनसम्म देशका उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना रहेको जनाएको छ।

महाशाखाले सोमबार जारी गरेको विशेष मौसम बुलेटिनमा देशमा पश्चिमी वायुको प्रभावसँगै अरब सागरमा बनेको न्यूनचापीय प्रणाली सक्रिय रहेको उल्लेख गरिएको छ। सोही प्रणालीको प्रभावका कारण सोमबार रातिदेखि कात्तिक १२ गते बुधबार बिहानसम्म गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम हिमपात र वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

त्यसैगरी, बाँकी प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा पनि हिमपात र हल्का वर्षा हुने पूर्वानुमान गरिएको छ। गण्डकी प्रदेशका उच्च हिमाली क्षेत्रहरूमा भने एक–दुई स्थानमा भारी हिमपात हुन सक्ने सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ।

महाशाखाले जारी गरेको बुलेटिनमा भनिएको छ, “आगामी तीन दिनको अवधिमा हुने सम्भावित हिमपात र वर्षाका कारण दैनिक जनजीवन, पर्वतारोहण, कृषि तथा पर्यटन क्षेत्रमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारण र सम्बन्धित निकायहरूलाई अनुरोध गरिन्छ।”

प्रतिक्रिया दिनुहोस्