ऊर्जा मन्त्री कुलमान घिसिङ अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको आठौं सभामा सहभागी हुन भारत प्रस्थान



काठमाडौं, कात्तिक १०— ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ सोमबार अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (ISA) को आठौं महासभामा सहभागी हुन भारत प्रस्थान गर्नुभएको छ। उहाँ राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको जहाजमार्फत अपराह्न भारतको नयाँ दिल्ली प्रस्थान गर्नुभएको हो।

नयाँ दिल्लीमा कात्तिक १० देखि १३ गतेसम्म हुने उक्त सभामा ४० भन्दा बढी देशका ऊर्जा मन्त्रीहरू सहभागी हुनेछन्। सौर्य ऊर्जा प्रवर्द्धन, दिगो ऊर्जा आपूर्ति, जलवायु परिवर्तन न्यूनीकरणका पहल र अन्तर्राष्ट्रिय सहकार्यका अवसरलगायत विषयमा उच्चस्तरीय छलफल हुने उक्त सभामा मन्त्री घिसिङले नेपालको तर्फबाट सम्बोधन गर्ने कार्यक्रम रहेको उहाँको सचिवालयले जनाएको छ।

नेपालले दिगो ऊर्जा विकासका लागि सौर्य ऊर्जाको उपयोग विस्तार गर्न प्रतिबद्ध रहेको र अन्तर्राष्ट्रिय सहकार्यमार्फत स्वच्छ ऊर्जाको पहुँच अभिवृद्धि गर्ने उद्देश्यले यस कार्यक्रममा सहभागिता जनाएको हो। मन्त्री घिसिङले सभाको विषयगत सत्रमा क्षेत्रीय तथा विश्व अन्तरआबद्धताको परिकल्पना र बृहत् स्तरको स्वच्छ ऊर्जा रुपान्तरणबारे सम्बोधन गर्ने कार्यक्रम छ।

सन् २०१५ नोभेम्बरमा पेरिसमा जारी घोषणासँगै स्थापना गरिएको अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (ISA) को लक्ष्य सन् २०३० सम्ममा सौर्य ऊर्जामा एक हजार अर्ब अमेरिकी डलरभन्दा बढी लगानी परिचालन गरी दिगो ऊर्जा विस्तार गर्नु रहेको छ। नेपाल प्रतिनिधि सभाबाट संरचना सम्झौता अनुमोदन भएपछि सन् २०२४ (२०७९) मा १०१ औं सदस्य राष्ट्रका रूपमा आइएसएमा आबद्ध भएको थियो।

महासभामा सहभागिता पश्चात् मन्त्री घिसिङ बुधबार स्वदेश फर्कने कार्यक्रम रहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्